काठमाडौं- नेकपा सचिवालय बैठकमा एमसीसी कार्यदलका सदस्य भीम रावल र प्रदीपकुमार ज्ञवालीसँगै अर्थमन्त्री युवराज खतिवडा समेत सहभागी भएका छन्। बिहान साढे ९ बजेदेखि सुरु भएको बैठकमा अर्थमन्त्री खतिवडासहित स्थायी कमिटी सदस्यद्वय रावल र ज्ञवाली समेत सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
यसअघि गत जेठ १० गते सचिवालय बैठकमा पनि ज्ञवाली र रावललाई राखेर छलफल भएको थियो। छलफलमा एमीसीसी नेपालका कार्यकारी अधिकृत खड्गबहादुर बिष्ट र नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एमसीसी बजेटका सम्बन्धमा ब्रिफिङ गराएका थिए।
बिहीबार प्रस्तुत बजेटमा एमसिसीबाट आगामी आर्थिक वर्ष २०७७/०७८ मा ५ अर्ब ७२ करोड रूपैयाँ परिचालन गर्ने लक्ष्य राखिएको छ। बजेटको बाह्य ऋण तथा अनुदानतर्फको स्रोतमा एमसिसीबाट सोझै भुक्तानी हुने गरी उक्त रकम प्राप्त हुने अनुमान गरिएको छ।
शुक्रबार प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगेका पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र सहमति नबनिसकेको विषयलाई बजेटमा समावेश गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।
२०७६ मंसिर-पुषमा बसेको नेकपा स्थायी कमिटी बैठकदेखि एमसिसीको विषय नेकपामा पेचिलो बन्दै आएको छ। सोही वर्ष माघ १५ देखि १९ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले संशोधनसहित एमसिसी पारित गर्न सुझाब दिएको थियो। केन्द्रीय कमिटीको निर्णय बमोजिम २० माघमा झलनाथ खनालको संयोजकत्वमा भीम रावल र प्रदीप ज्ञवाली सदस्य हुनेगरी एमसीसी कार्यदल गठन गरिएको थियो। कार्यदलले गत फागुन ९ मा अध्यक्षद्वय ओली र प्रचण्डलाई प्रतिवेदन बुझाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।