काठमाडौ- नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी रुकुम पश्चिमले जेठ १० गते चौरजहारी नगरपालिका-८ सोती घटनाको अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएको छ। रुकुम जिल्ला नेकपा अध्यक्ष गोपाल शर्माद्वारा जारी विज्ञप्तिमा घटनाको घोर भर्त्सना गर्नुका साथै दोषीउपर कडा कारबाही गर्न माग गरिएको छ। जेठ १० गते रुकुम चौरजहारीमा एक युवतीसँगको अन्तर्जातीय प्रेम सम्बन्धका विषयमा विवाद हुँदा जाजरकोटका नवराज विकसहित ५ जनाको मृत्यु भएको थियो भने एक जना अझै बैपत्ता छन्।
रुकुम घटनाको सम्बन्धमा उठेका कतिपय प्रश्नको सन्दर्भमा पार्टीको धारणा थप स्पष्ट पार्न रुकुम जिल्ला इन्चार्ज राजकुमार शर्माको अध्यक्षतामा उपलब्ध केन्द्रीय सदस्यहरू र प्रदेश कमिटी सदस्यहरूको बैठकमा आफ्ना कुरा स्पष्ट पारेको हो। रुकुम घटनालाई पार्टीले राजनीतिक परिवर्तनको स्तरमा सामाजिक सांस्कृतिक रुपान्तरणमा अपुग भएको निष्कर्ष निकालेको छ।
घटनाको पृष्ठभूमिमा अन्तर्जातीय प्रेम सम्बन्ध, स्थानीय र बाहिरबाट आएका युवाहरूबीच विभिन्न अवस्थाको इगो र लकडाउन परिपालन गर्ने गराउने मनोविज्ञान देखिएको विज्ञप्तिमा उल्लेख छ। त्यस घटनामा ५ जनाको मृत्यु तथा एक जना बेपत्ता भएपछि गम्भीर प्रकृतिको घटना हुन पुगेको भनिएको छ। तर, घटनाको प्रकृति अनुसन्धान गरी दोषी उपर कारबाही गर्न सरकारसँग माग गरिएको छ।
'रुकुमेली कम्युनिस्टबाट अत्तालिएका कतिपय तत्वले राजनीतिक रुप दिई कम्युनिस्ट आन्दोलन र नेतृत्वमाथि भइरहेको प्रहारको घोरभर्त्सना गर्दछौं,' विज्ञप्तिमा भनिएको छ। रुकुम पश्चिमका प्रतिनिधिसभा सांसद् जनार्दन शर्माको निर्देशनमा पार्टी कार्यालय मार्फत चन्द्रबहादुर विकको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भइसकेकाले सत्य तथ्य छानबिन गर्ने विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।