काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले श्रम सूचना बैंक स्थापनाका लागि आवश्यक गृहकार्य सुरु गर्न निर्देशन दिएका छन्।
श्रम बजारमा प्रवेश गर्ने श्रम शक्तिको योग्यता, ज्ञान, सीप, दक्षता तथा अनुभवको लेखांकन गरी आवश्यकताअनुसार श्रमिकहरूलाई रोजगारदातासम्म जोड्न मद्दत पुग्ने हुँदा श्रम सूचना बैंक स्थापनाका लागि तत्काल गृहकार्य सुरु गर्न निर्देशन दिएका हुन्।
बिहीबार मन्त्रालयको कार्यदलले श्रमिक सूचना बैंकसम्बन्धी अध्ययन प्रतिवेदन मन्त्री यादव सामु पेश गरेको थियो।
सूचना बैंकमार्फत श्रम बजारमा कुन–कुन क्षेत्रमा रोजगारीका अवसरहरु छन्‚ खोजी गर्न तथा सीपअनुसारको काममा श्रमिकहरूलाई आबद्ध गराउन सकिने प्रतिवेदनमा समेटिएको छ।
त्यसैगरी कृषि, निर्माण, सेवालगायत अनौपचारिक क्षेत्रमा श्रमिकहरूलाई रोजगारदातासम्म पुर्याउन तथा औपचारिकीकरण गर्न एवं दीर्घकालीन रुपमा सामाजिक संरक्षण प्रदान गर्न सामाजिक सुरक्षाको दायरामा ल्याउन समेत श्रम बैंकले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिएको छ।
मन्त्री यादवले विभिन्न क्षेत्र, पेशा वा व्यवसायमा संलग्न हुन चाहने वा हाल कार्यरत श्रमिकको विवरण तथा वैदेशिक रोजगारीमा गएका वा फर्किएका जनशक्तिमा रहेको सीप तथा योग्यताको समेत अद्यावधिक विवरणहरू समेत समेटी श्रम बैंकको अवधारणालाई संस्थागत गर्न मन्त्रालयले पहलकदमी लिएको बताए।
‘सम्पूर्ण कामदारहरूलाई सिस्टममा लैजान श्रम बैंक कोसे ढुंगाका रुपमा सावित हुनेछ’ मन्त्री यादवले भने।
यसमार्फत ७ सय ५३ स्थानीय तहहरूमा रहेको रोजगार व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) मार्फत सीपमूलक जनशक्तिको अद्यावधिक गरिने मन्त्री यादवले बताए।
श्रम सूचना बैंकका लागि १ अर्ब बजेट
सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा समेत श्रम सूचना बैंकको व्यवस्था गरिएको छ। बजेटमा रोजगार सेवा केन्द्रलाई नै श्रम सूचना बैंकको रुपमा समेत उपयोग गरिने उल्लेख छ।
यस बैंकमार्फत निजी क्षेत्रका उत्पादनशील उद्योगले आफूलाई आवश्यक पर्ने र श्रम सूचना बैंकबाट सिफारिस भएका श्रमिकलाई रोजगारीसहितको तालिम प्रदान गरी सोही व्यक्तिलाई न्यूनतम दुई वर्ष रोजगारी सुनिश्चित गरेमा बढीमा तीन महिनासम्मको तालिम अवधिको न्यूनतम पारिश्रमिकको ५० प्रतिशत रकम अनुदानको रुपमा उद्योगीहरुलाई उपलब्ध गराउने व्यवस्था बजेटमा गरिएको छ।
यस कार्यक्रमका लागि सरकारले १ अर्ब बजेट विनियोजन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।