काठमाडौं- पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आगामी आर्थिक वर्षको बजेट पुरातनवादी सोचबाट बाहिर निस्कन नसकेको र कुनै स्पष्ट वैचारिक धारबाट जान नसकेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज सेजनसँगको वेबमा आधारित पोस्ट बजेट छलफल कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईले अहिलेको विषय परिस्थितिमा गुणात्मक सुधार र क्रमभंगताको अपेक्षा राखिएको बेला पुरानै शैलीको निरन्तरताका रुपमा बजेट आएको धारणा राखेका हुन। ‘अहिलेको बजेट समाजवाद उन्मुख जस्तो पनि छैन र बजारवाद उन्मुख जस्तो पनि छैन। यो त असन बजारमा उभिएजस्तो भयो। कहाँ र कुन बाटोमा जाने भन्नेमा अर्थमन्त्री अझै अल्मलिएको देखियो,’ उनले भने।
पछिल्लो तीन वर्षदेखि अर्थमन्त्रीले कम्युनिस्ट विचारधारा, समाजवाद र नव उदारवादको फ्युजनका रुपमा काम गरिरहेको पनि भट्टराईको धारणा छ। ‘एकापट्टि कम्युनिस्ट भएका कारण अर्थमन्त्रीले निजी क्षेत्रलाई केहि संकुचन गर्नुपर्छ भन्ने पनि ठान्छन् तर व्यवहारमा गर्न भने सकेका छैनन। अर्कोतर्फ, खुलेरै बजारलाई आत्मसात गर्न पनि सकेका छैनन्,’ भट्टराईले भने, ‘हामी जाने भनेको समाजवादमा हो र त्यसका लागि अहिले औद्योगिक पुँजीवाद अबलम्बन गर्नुपर्ने हो। बजार र निजी क्षेत्रलाई मुख्य जोड दिनुपर्ने हो।’
बजेटको आकार बढाउनमा अर्थमन्त्रीले खुट्टा कमाएको र स्रोत व्यववस्थापन गर्न सकिँदैन कि भन्ने लघुताभास देखिएको पनि भट्टराईको भनाई छ। ‘हामीले ठूलो फड्को मार्नु छ भने खुटटा कमाउनु हुँदैन। अहिले राजश्व कम उठने आंकलन गरिएको छ। तर नयाँ–नयाँ स्रोतहरु खोजिनुपर्थ्यो। विदेशी लगानी कसरी धेरै भित्र्याउन सकिन्छ भनेर सोच्चुपर्थ्यो। बजेट स्रोत जुटाउनका लागि अरु थुप्रै क्षेत्रलाई खोज्न सकिन्थ्यो। अहिले वैदेशिक अनुदान त धेरै पाइन्न र धेरै लिन पनि हुँदैन। तर वैदेशिक ऋण त उठाउन सकिन्थ्यो,’ उनले भने।
बजेट भनेको आय व्ययको अनुमान मात्र नभई समाजको अर्थराजनीतिको मापन र भविष्यको दिशानिर्देश गर्ने काम पनि भएका कारण जे सम्भावना छ त्यसको परिधिभित्र मात्रै रहेर बजेट ल्याउन नहुने उनले बताए। ‘हामी अहिले पनि अल्पविकसित मुलुककै रुपमा छौं। हामीले अर्थतन्त्रमा गुणात्मक फड्को मार्नुपर्ने छ। त्यसमाथि कोरोनाका कारण अर्थतन्त्र झन् संकुचन हुने बेलामा हामीले सम्भावना मात्र होइन हाम्रो आवश्यकता कति हो भनेर पनि सोच्नुपर्थ्यो,’ भट्टराईको धारणा छ।
प्रतिपक्षि दल नेपाली कांग्रेसले नवउदारवादी धारका कारण अलि ठूलो बजेट ल्यायो भने असम्भव भन्न थालिहाल्ने गरेको भन्दै पूर्व प्रधानमन्त्री भट्टराईले ठूलो सपना पूरा गर्न ठूलै रकम आवश्यक हुने पनि बताए। परम्परागत ढंगले बजेट बनाउने कामलाई रोक्नुपर्ने र बजेटमा श्रोत अभाव भएकै कारण विनियोजनमा पनि खुट्टा कमाउनुभन्दा नयाँ स्रोत खोज्न सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ।
निजी क्षेत्रलाई सहज तरिकाले काम गर्ने वातावरण बनाउनुपर्ने बेला भए पनि सरकारले केही नियन्त्रणको नीति लिएको पनि उनले बताए। ‘स्वास्थ्य र शिक्षा क्षेत्रलाई राज्यको दायित्वको क्षेत्र हुँदाहुँदै पनि निजी क्षेत्रलाई दिइयो। कम्तीमा यी दुई क्षेत्रको जिम्मेवारी सरकार आफैंले लिनुपर्छ। बाकी निजी क्षेत्रलाई दिन सकिन्छ,’ उनले भने।
बजार, राज्य र समुदायको समन्वय रहेको बजेट ल्याइनु अहिलेको आवश्यकता रहेको उनको भनाई थियो।
आगामी आर्थिक वर्षको बजेटबाट आफू उत्साहित नभएको पनि भट्टराईले बताए। ‘म बजेटबाट उत्साहित छैन। सपना नदेखिकन विकास हुँदैन। हामीले कमसेकम ठूला सपना देख्न सक्नुपर्छ। हामी सपना नै सानो देखेपछि विकास ठूलो कसरी हुन्छ? नयाँ सोच सहितको बजेट आउनुपर्थ्यो। आएन। अर्थमन्त्री अझै वैचारिक पिँजडाबाट बाहिर आउन सकेनन्’, उनले भने।
ठूला पूर्वाधार निर्माणका कामलाई आगामी आर्थिक वर्षभित्र कम प्राथमिकता दिनुपर्ने पनि उनको भनाई छ। ‘रेल, पानीजहाजका कुरा अहिले गर्न आवश्यक थिएन। कर्मचारीको संख्या पनि घटाउनुपर्ने, सार्वजनिक खरिद प्रणालीमा सुधार गर्नुपर्ने, राजश्वका लागि निजी क्षेत्रलाई उत्प्रेरित गर्ने र वैदेशिक लगानीको वातावरण बनाउने हो भने ठूला आयोजना अर्का वर्षबाट अगाडि बढाउन सकिथ्यो। तर अहिले कोरोनाबाट थलिएको अर्थतन्त्र पुनरोत्थान पहिलो प्राथमिकता हो’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।