काठमाडौं- सरकारले कोरोनाबाट प्रभावित व्यवसायलाई उत्थान गर्नेगरी कर नीति तर्जुमा गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमार्फत कोरोनाले प्रभावित भएको व्यवसायलाई पुनर्जिवीत गर्नेगरी कर योजना अघि बढाएको जानकारी दिए।
खतिवडाले घरेलु, लघु घरेलु र २० लाखसम्म कारोबार गर्ने करदातालाई २० प्रतिशत, २० लाखदेखि ५० लाख रुपैयाँसम्म कारोबार गर्ने करदातालाई ५० प्रतिशत र ५० लाखदेखि १ करोड रुपैयाँसम्म कारोबार गर्ने करदातालाई २५ प्रतिशत छुट दिने व्यवस्था मिलाइएको बताएका छन्। खतिवडाले लघु उद्यमलाई आयकर छुटको अवधि २ वर्ष थप गरी ७ वर्ष र महिला उद्यमीद्वारा सञ्चालित लघु उद्यमलाई ३ वर्ष थप गरी १० वर्ष पुर्याइएको घोषणा गरेका छन्।
लघु बीमामा लाग्दै आएको मूल्य अभिवृद्धि कर हटाइएको छ। लघु, घरेलु तथा साना उद्यम, मास्क बनाउने उद्योगले पैठारी गर्ने उद्योगले पैठारी गर्ने यन्त्र तथा धान, मकै गहुँ उद्योगले यन्त्र उपकरण पैठारी गर्दा लाग्ने भन्सार महसुल घटाइएको छ। प्राथमिक कृषि उपजमा लाग्दै आएको भन्सार महसुल र कृषि सुधार शुल्क बढाइएको छ।
कोरोना संक्रमणबाट प्रभावित पर्यटन उद्योगलाई आर्थिक वर्ष २०७६/०७७ को आय विवरणअनुसार लाग्ने आयकरमा २० प्रतिशत छुटको व्यवस्था मिलाइएको छ। पर्यटन र ढुवानी व्यवसायी र चलचित्र घरलाई मूल्य अभिवृद्धि कर र कर विवरण बुझाउने समय बढाई चौमासिक अवधि बनाइएको छ।
औषधि उद्योगले आयात गर्ने कच्चा पदार्थमा मूल्य अभिवृद्धि कर छुट दिई त्यस्तो वस्तु स्वदेशी उद्योगबाट खरिद गर्दा तिरेको मूल्य अभिवृद्धि कर फिर्ताको व्यवस्था मिलाइएको छ। आयुर्वेदिक औषधिको भन्सार तथा स्यानिटाइजरको कच्चा पदार्थको अन्तुशल्क छुट दिइएको छ।
सरकारले अन्तशुल्क र भन्सारका केही दरमा परिवर्तन गरेको छ। एक दर्जनभन्दा धेरै वस्तुमा लाग्दै आएको अन्तशुल्क हटाइएको छ। मदिरा, चुरोटमा लाग्ने अन्तशुल्क तथा भन्सार बढाइएको छ। उद्योगले प्रयोग गर्ने कच्चा पदार्थको भन्सार दर तयारी वस्तुको तुलनामा कम गर्न केही वस्तुमा भन्सार घटाइएको छ।
सबै किसिमका फर्निचरको पैठारीमा अन्तशुल्क लगाइएको छ। सुन तथा सुनका गहनामा लाग्ने भन्सार दर बढाइएको छ। उद्योग ग्राममा स्थापना हुने आयोजनालाई ५ वर्षसम्म आयकरमा छुट दिने व्यवस्था गरिएको खतिवडाले घोषणा गरेका छन्। गाउँपालिकामा सञ्चालित सबै सहकारीलाई आयकर छुट दिइएको छ। नगरपालिका, महानगरपालिका र उपमहानगरपालिकामा भने आयकर लाग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।