काठमाडौं- नेपालमा कियाको विद्युतीय गाडी निरो बुकिङ गरेका ग्राहकले लकडाउन खुलेलगत्तै उक्त एसयुभी चलाउन पाउने भएका छन्।
बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालका लागि कियाको एकल अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले लकडाउन खुलेलगत्तै बुकिङ गरेका ग्राहकलाई उक्त गाडी हस्तान्तरण गर्ने तयारी गरेको बताएको छ।
उक्त गाडीहरु कोरियाबाट नेपालका लागि चलान भइसकेका छन्। लकडाउन खुल्दासम्म गाडी नेपाल आइसक्ने भएकाले कम्पनीले बुकिङ गरेका ग्राहकलाई गाडी नेपाल आइपुग्नेबित्तिकै हस्तान्तरण गर्ने योजना बनाएको उल्लेख गरिएको छ।
एकपटकको फुल चार्जमा ४८० किलोमिटरसम्म गुड्ने उक्त एसयुभी नेपाली कार पारखीले निकै रुचाएर बुकिङ गरेको विज्ञप्तिमा उल्लेख गरएको छ। यसमा ६४ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको छ भने यसको १५० किलोवाटको इलेक्ट्रिक मोटरले २०१ बिएचपी पावर र ३९५ एनएम टर्क उत्पादन गर्छ। यो एसयुभी स्टार्ट गरेको ८ सेकेन्डभित्रै १०० किलोमिटरको गतिमा कुद्न सक्छ।
डिसी फास्ट चार्जरबाट पूरा चार्ज गर्न ८० मिनेट लाग्ने यो गाडी भित्रिएपछि नेपाली बजारमा सर्वाधिक माइलेज दिने विद्युतीय एसयुभीमा यही पर्ने कम्पनीले दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।