काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले आज संघीय संसदमा पेश गरेको आर्थिक वर्ष २०७७/७८ को बजेटमाथि पूर्वअर्थममन्त्री तथा कांग्रेस नेता रामशरण महतले नेपाल लाइभलाई प्रारम्भिक प्रतिक्रिया दिएका छन्। प्रस्तुत छ, महतको प्रतिक्रिया-
आगामी आर्थिक वर्षको बजेटबाट धेरै कुरा गरिनेछ, भनिनेछ भनिएको छ। जुन कुरा हाम्रो कार्यान्वयन क्षमताले नभ्याउने देखिन्छ। हाम्रो कार्यक्षमता असाध्यै कमजोर छ। सरकारले कोरोना प्रभावितका लागि केही कार्यक्रम ल्याउने भनेको छ। स्वास्थ्य क्षेत्रको पनि उल्लेख्य चर्चा भएको छ। तर त्यो कार्यान्वयन गर्न सकिन्छ कि सकिँदैन हेर्न बाँकी छ। स्वास्थ्य क्षेत्रमा धेरै कुरा भएको छ। बजेट पनि उल्लेख्य राखिएको छ।
आगामी वर्षमा रोजगारी सिर्जनाका लागि धेरै कुरा गरिनेछ भनिएको छ, जुन सम्भव छैन। हाम्रो कार्यक्षमताले त्यो असम्भव बनाएको हो। बजेटले 'गरिनेछ' धेरैपटक भन्यो तर त्यो यथार्थमा गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा महत्वपूर्ण हुन्छ। सरकारले कार्यक्षमता बढाउनुपर्ने आवश्यकता छ।
जहाँसम्म चालु खर्च काटिएको विषय छ त्यो आवश्यक थियो। हामीले पटकपटक भन्दै पनि आएका थियौं। अझै यथार्थरूपमा चालु खर्च कटाइएको छैन। सरकारले त्यसलाई अझै कटौती गर्न सक्ने ठाउँ थिए। विभिन्न आयोगले कटौतीको सुझाब पनि दिएका थिए। तर त्यसको पर्याप्त कार्यान्वयन भए जस्तो लागेन।
अर्कोतर्फ सुकुम्बासी समस्या समाधानका लागि विभिन्न जिल्लामा कार्यक्रम कार्यान्वयन गर्ने भनिएको छ। तर त्यो अहिले किन आवश्यक थियो र? त्यसकारण म भन्छु, सरकारले ल्याएका कतिपय कुरा आवश्यक थिएन।
बजेटबारे धेरै नकारात्मक हुनुपर्ने ठाउँ छैन। तर ल्याएको बजेटको कार्यान्वयन गर्न सक्ने हुनुपर्यो। त्यसकारण मैले भनेको के हो भने नकारात्मक नभए पनि बजेट अलि छरिएको छ। फोकस हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।