काठमाडौं- सरकारले राष्ट्रिय गौरवको आयोजना भनेको काठमाडौं-तराई मधेश द्रुतमार्गलाई आर्थिक वर्ष २०७६/७७ मा १५ अर्ब ७१ लाख रुपैयाँ विनियोजन गरेको थियो। आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सो आयोजनमा अर्थमन्त्री डा युवराज खतिवडाले ८ अर्ब ९३ करोड रुपैयाँ विनियोजन गरेका छन्।
सरकारले काठमाडौंबाट तराई जोड्ने सबैभन्दा छोटो बाटोको रुपमा काठमाडौं-तराई मधेश द्रुतमार्गको निर्माण सुरु गरेको हो। विभिन्न मोडलबाट निर्माणको छलफल भएपनि अन्तिममा नेपाली सेनामार्फत उक्त आयोजना निर्माणको निर्णय सरकारले गरेको हो।
काठमाडौं-तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को लम्बाई करिब ७२ किलोमिटर रहेको छ। राष्ट्रिय गौरवको आयोजनामा राखिएको यो द्रुतमार्ग निर्माण कार्य चार वर्षमा सक्ने गरि निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको हो।
यो आयोजनाको प्रारम्भिक लागत अनुमान १ खर्ब ११ अर्ब रहेको थियो। तर पछिल्लो विस्तृत अध्ययन प्रतिवेदन अनुसार आयोजनाको लागत बढेर १ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ। आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन मन्त्रिपरिषद्ले स्वीकृत गरि काम अघि बढेको हो। आयोजनाको हालसम्मको प्रगतिको रुपमा ९७ प्रतिशत रुख कटान र ९७ प्रतिशत नै जग्गा अधिग्रहणको काम नेपाली सेनाले सकेको छ।
त्यस्तै ८७ प्रतिशत माटो कटानको काम सकिएको बजेटको अर्धवार्षिक समिक्षामा उल्लेख छ। द्रुतमार्गको ५४ किमि अर्थवर्क कटिङ कार्य भइरहेको, ८ वटा बेसक्याम्प निर्माण सकिएको र १६ हजार ५ सय १४ वटा रुख कटान भइसकेको छ।
आव २०७६/७७ मा द्रुतमार्गका लागि १५ अर्ब ७२ लाख विनियोजन भएकोमा आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन ढिलो आएकाले खर्च हुने नसकेको जनाइएको छ। बजेटको अर्धवार्षिक समिक्षा अनुसार आयोजनाले २९ करोड ९८ लाख रुपैयाँ मात्र खर्च भएको छ। गत आवको पुसम्म १०.१ प्रतिशत खर्च भएकोमा चालू आवको सोही अवधिमा २ प्रतिशतमात्र खर्च हुन सकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।