काठमाडौं- राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको पुनरसंरचना गरी भूक्षय नियन्त्रण, क्षतिग्रस्त भूमिको पुनर्स्थापना कृषि वन बायोइन्जिनियरिङ सहितको तटबन्ध कार्यक्रमलाई तीव्रता दिइने भएको छ। चुरे क्षेत्रमा वर्षातको पानी उपयोग सहित सिमसार व्यवस्थापन र अति जोखिमयुक्त बस्तीको व्यवस्थापन गरिने अर्थमन्त्री डा युवराज खतिवडाले बजेट वक्तव्यमा व्यवस्था गरेका छन्।
यसका लागि एक अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
चुरे क्षेत्रको प्राकृतिक स्रोत संरक्षण, दिगो व्यवस्थापन, पारिस्थितीकीय सेवाको सम्बर्द्धनद्वारा गरिबी न्यूनीकरण एवं समृद नेपालको राष्ट्रिय लक्ष्यमा टेवा पुर्याउने राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको मुख्य लक्ष्य रहेको छ।
यस कार्यक्रमले चुरे क्षेत्र पूर्व इलामदेखि पश्चिम कन्चनपुरसम्म ३७ जिल्लाको यस कार्यक्रमले कुल १८ लाख ९६ हजार २ सय ५६ हेक्टर भूभाग समेटेको छ। आर्थिक वर्ष २०७०/७१ मा राष्ट्रिय गौरवको आयोजनाको रूपमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सञ्चालन हुँदै आएको छ।
कुल लागत २ खर्ब ४९ अर्ब ७० करोड १ लाख रुपैयाँ रहेको चुरे-तराइ मधेस संरक्षण तथा व्यवस्थापन बीस वर्षीय गुरूयोजना नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भई कार्यावन्यनमा आएको छ।
नदी किनार तटबन्धनमार्फत् बाढी नियन्त्रण, जोखिमको न्यूनीकरण तथा नदी किनार/उकास क्षेत्रहरूमा हरियाली प्रवर्द्धन कार्य सुरू भएको छ। गुरूयोजनाले चुरे क्षेत्रबाट वा यस क्षेत्र भएर बग्ने १६४ नदी प्रणालीको नक्सांकन र यसमध्ये पहिलो ५ वर्षको लागि ६४ वटा नदी प्रणाली प्राथमिकीकरण भएको छ।
८५ स्थानमा गल्छी/पहिरो नियन्त्रणको लागि संरचना निर्माण सम्पन्न भएको, ५१ वटा भूमिगत जल पुनर्भरण र सतहमुनिको पानी उपयोगको लागि संरचना निर्माण सम्पन्न भएको, १२.३५ कि.मि नदी तथा खोला किनारा स्थिरिकरण/व्यस्थापन-स्पर, डाइक, बायोइन्जिनियरिंगको लागि संरचना निर्माण गरिएको, १६ हेक्टरमा हरित पेटीका निर्माण गरिएको, ८ स्थानमा पर्यापर्यटन क्षेत्र प्रबर्द्धनको लागि संरचना निर्माण गरिएको, ४१ हजार ५ सय गोटा फलफूल बिरुवाका लागि माग संकलन भएको,अन्य ३ लाख ८० हजार गोटा बिरुवा नर्सरीमा उत्पादन भइरहेको छ।
सरकारले चालु आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा जम्मा २८ करोड ४६ लाख अर्थात बजेट विनियोजनको १६.४ प्रतिशत खर्च भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।