काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले भरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई निरन्तरता दिने आगामी आर्थिक वर्षको बजेटमा उल्लेख गरेका छन्। बजेटमा रकम छुट्टाइएको छैन।
यो आयोना आर्थिक वर्ष २०६८/६९ मा शुरु भई आर्थिक वर्ष २०७६/७७ मा सम्पन्न गर्ने लक्ष्य रहेको थियो। यो आयोजनाको संशोधित तालिकाअनुसार आर्थिक वर्ष २०७९/८० मा सम्पन्न हुने अपेक्षा गरिएको छ। यो आयोजनाबाट बाँके र बर्दिया जिल्लाको करिब ५१ हजार हेक्टर भूमिमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने तथा करिब १ सय ५० मिटर हेडको सदुपयोग गर्दै नियमित रूपमा ४८ मे.वा. जलविद्युत उत्पादन हुनेछ। आयोजनाको शुरू लागत अनुमान १६ अर्ब ४३ करोड रुपैयाँ रहेकोमा ३३ अर्ब १९ करोड रुपैयाँ लाग्ने संशोधित अनुमान रहेको छ।
आयोजनाको गत आर्थिक वर्ष २०७५/७६ मा १२.२ किलोमिटर शुरुङ्ग ब्रेकथ्रु भएकोमा हाल फिनिसिङ्ग कार्य अन्तिम चरणमा रहेको छ। बाँध तथा विद्युत गृहको सिभिलतर्फको निर्माण कार्य भइरहेको छ। आयोजनाको हाइड्रो मेकानिकल कार्य खरीद प्रक्रियामा रहेको र बाँध स्थलको जग्गा प्राप्तिाको लागि मूल्य निर्धारण भई मुआब्जा वितरण भइरहेको छ। सामाजिक विकास तथा भेरी करिडोर उप आयोजना अन्तरगत सतह सिँचाइ निर्माण तथा पुनस्थापना एवं लिफ्ट सिँचाइसम्बन्धी कार्यहरू भइरहेको छ।
चालु आर्थिक वर्षमा ४ अर्ब २० करोड २८ लाख विनियोजन भएकोमा ६ महिनामा १ अर्ब १७ करोड ४९ लाख रुपैयाँ खर्च भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा २९.४ प्रतिशत खर्च भएकोमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २८ प्रतिशत खर्च भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।