काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष सीपका लागि १ अर्ब बजेट छुट्याएको छ। विश्वमा महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को पत्यक्ष प्रभाव श्रम बजारमा परेको र युवाहरुमा सीप विकासमा जोड दिन सरकारले सीप विकासका लागि १ अर्ब बजेट छुट्याएको हो।
कोरोनाका कारण देशभित्रै रोजगारी गुमाएका र वैदेशिक रोजगारीबाट काम गुमाएर फर्किएका युवाहरुलाई देशभित्रै रोजगारीमा परिचालन गर्न जोड दिइने अर्थमन्त्री खतीवडाले बताए। उनीहरुलाई प्लम्बिङ, कुक, कालिगड, ब्युटिसियन लगायत तालिम संघ र प्रदेश स्तरमा तालिम संचालन गरिने व्यवस्था बजेटमा छ। यस कार्यक्रबाट ५० हजार युवाहरुलाई सीपयुक्त बनाईने मन्त्री खतिवडाले बताए।
आगामी वर्ष सीप विकास गरी स्वरोजगारी सिर्जना गर्न तथा उद्यमशीलता विकासका लागि सरकारले सीपमा जोड दिएको छ। बेरोजगार लक्षित सीप विकास र उद्यमशीलता विकासका लागि सरकारले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा पनि घुम्ति सीप तथा तालिम सञ्चालन गर्ने घोषणा गरिसकेको छ। सीपमूलक तालिमलाई एकीकृत नीति तथा संरचना भित्र सञ्चालनमा जोड दिइने उल्लेख छ।
बजारको माग र बेरोजगार युवाहरुको चाहानाका आधारमा नवीन र विशेष सीप तथा तालिम उपलब्ध गराइने सरकारको योजना छ। त्यस्तै वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको सीप प्रमाणीकरण गर्ने रसीपका आधारमा रोजगारी उपलब्ध गराइने सरकारले घोषणा गरी सकेको छ। यस अघि पनि सरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको सीप प्रमाणीकरणको काम सुरु गरिसकेको छ।
विदेशबाट फर्किएका युवाहरुमा उद्यमशीलताको विकासका लागि सीपका आधारमा सरलकर्जा १० लाखसम्म दिने कार्यक्रम समेत अघि सारेको छ। तर यो कार्यक्रमको कार्यान्वयन भने हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।