काठमाडौं– केन्द्रीय समितिको बैठकले नेपाली भूभागको पक्षमा निर्णय गर्ने कांग्रेसले प्रस्ट्याएको छ।
नेपाली कांग्रेसले बिहीबार गरेको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले स्वाभिमानका पक्षमा उभिने बताए। ‘जमिनको पक्षमा १७ गतेको बैठकले निर्णय गर्छ। नियतवश आएका समाचारको भ्रम नपरौं।’ उनले भने, ‘द्विविधामा कोही नपरे हुन्छ। ती भूभाग नेपालकै हुन्। जमिनको पक्षमा कांग्रेसले संस्थागत निर्णय गर्छ।’
विगतमा कांग्रेसकै नेतृत्वले विभिन्न घटनाक्रमलाई निष्कर्षमा पुर्याएको दाबी उनले गरे। नक्सा लिएर मात्रै जिम्मेवारी सरकारको जिम्मेवारी पूरा नहुने जनाउँदै भूभाग पनि फिर्ता गर्न सरकारलाई साथ दिने प्रतिबद्धता जनाए।
संविधान संशोधनको प्रस्ताव संसदको कार्यसूचीबाट बुधबार हटेको थियो। सरकार पक्षीय नेताहरुले कांग्रेसले समय मागेका कारण कार्यसूचीबाट संशोधन प्रस्ताव हटेको आरोप लगाएका थिए। पार्टीको विरुद्धमा आरोप लागेपछि पत्रकार सम्मेलन गरिएको थियो।
सभामुखले बुधबार संसद बोलाएको प्रति प्रवक्ता शर्माले आश्चर्यता व्यक्त गरे। जेठ ११ गतेको कार्यव्यवस्था समितिको बैठकमा बुधबार संसद रोक्ने निर्णय भएको उनले सुनाए। ‘कार्यव्यवस्था समितिको बैठक ११ गते बसेर १४ गतेलाई ग्याप रहने कार्यक्रम निर्धारित भएको थियो।’ प्रवक्ता शर्माले भने, ‘सभामूखले एकाएक बैठक बोलाउनुभयो। एकाएक बैठक बोलाउँदा कांग्रेसलाई सोध्नुनपर्ने?’
कांग्रेसको औपचारिक धारणा पार्टीको जिम्मेवार व्यक्तिले प्रस्तुत गर्ने जनाउँदै नेकपाका नेताहरुलाई उनले गलत अभिव्यक्ति नदिन आग्रह गरे।
नक्साको विषयले अन्य समस्या छोप्न सरकार उद्दत रहेको जनाउँदै प्रवक्ता शर्माले चेतावनी दिँदै भने, ‘नक्सालाई देखाएर सरकारले बेथितिलाई छोप्न पाउँदैन।’ क्वारेन्टाइनलाई सरकारले गाईको गोठजस्तो बनाएको भन्दै आपत्ति जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।