काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अब पार्टी फुट्न नदिने प्रतिबद्धता व्यक्त गर्दै आफूहरु अबको वैकल्पिक शक्ति भएको बताएका छन्।
राप्रपाको ३१ औं वार्षिकोत्सवको अवसरमा अध्यक्ष थापाले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गरी राप्रपालाई अब फुट्न नदिने प्रतिवद्धता व्यक्त गरेका हुन्। थपाले आफूहरुलाई माया गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा आभार व्यक्त गर्दै अब त्यस्तो गल्ती नहुने बताएका छन्।
‘अनेकौँ उतारचढावको बावजुद कत्ति पनि विचलित नभइ पार्टीलाई वर्तमान अवस्थासम्म ल्याउन योगदान पुर्याउन क्रियाशील पार्टीका साथीहरुमा हार्दिक बधाई तथा शुभकामना दिन्छु’ थापाले भनेका छन् ‘स्थापनाकालदेखि पटकपटक टुटफुटको श्रृंखलाबाट गुज्रेको राप्रपा अब कहिल्यै नफुट्ने बाचाबन्धनसहित पार्टी एकताबद्ध भएका छौँ।’
देशलाई अहिले एउटा बलियो वैकल्पिक शक्तिको आबश्यकता भएको थापाले उल्लेख गरेका छन्। ‘यस्तो शक्ति जो राष्ट्रवादी होस्, जसले मन वचन र कर्मले प्रजातन्त्रमा विश्वास गरोस्’ विज्ञप्तिमा भनिएको छ ‘नेपाली जनताको चाहना अनुरुप सुशासन र समृद्धि प्रदान गर्न सकोस्।’
थापाले राप्रपामा रहेको फरक विचार, देशव्यापि संगठन र अग्निपरिक्षाबाट उत्तिर्ण नेतृत्वको कारण राप्रपा देशले चाहेको वैकल्पिक शक्ति बन्न सक्ने दाबी पनि गरेका छन्।
उनले आगामि दिनमा सक्रिय रुपले संगठन निर्माण र जनताको विश्वास जित्ने काममा लाग्न पार्टीका सम्पूर्ण नेता कार्यकर्तामा आह्वानसमेत गरेका छन्। ‘राजसंस्था सहितको लोकतन्त्र र सनातन हिन्दुराष्ट्रको धरातलमा सबल र सम्बृद्ध नेपाल निर्माण गर्ने अभिभारा अब हाम्रो हो,’ थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
विगतमा केही गम्भीर त्रुटि र कमजोरिहरु भएको उनले स्वीकार गरेका छन्। ‘हामीले त्यसबाट पाठ सिकेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘अब गल्ति दोहरिने छैनन्। आगामी दिनमा राप्रपालाई विश्वास गर्न, भरोसा गर्न र माया गर्न म नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा अपिल समेत गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।