काठमाडौं– संसदमा संविधान संसोधनको प्रस्ताव कांग्रेसका कारण फिर्ता लिएको आरोपको कांग्रेसले खण्डन गरेको छ। संविधान संशोधनको प्रस्ताव ल्याउने विषयमा सल्लाह नगरेको सरकारले प्रस्ताव फिर्ता लिएको दोष भने कांग्रेसलाई लगाएको उनले बताए।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट्ट गर्दै सरकारसँग प्रश्न गरे, ‘प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने‚ फिर्ता गर्दा दोष लगाउने? को गर्दैछ यो षड्यन्त्र?’
संसदको बुधबारको कार्यसूचिमा संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने भनिएपनि सरकार अन्तिम समयमा पछि हटेको थियो। संशोधन प्रस्ताव नहुनुमा कांग्रेसको कारण देखाएपछि प्रवक्ता शर्माले आपत्ति जनाएका हुन्।
नयाँ नक्साको पक्षमा कांग्रेसको चट्टानी अडान रहेको दोहोर्याउँदै शर्माले भने, ‘प्रक्रिया सुचारु गर्नोस्। केन्द्रीय समितिको बैठक बसेर संस्थागत निर्णयका साथ नयाँ नक्सा र संशोधनको पक्षमा उभिनेछौं।’ पूर्ण नक्साको पक्षमा कांग्रेस रहेको जानकारी सर्वदलीय बैठकमा समेत गराइसकिएको उनले बताए।
परिवर्तित नक्सालाई संविधानको अंग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वले निष्कर्ष निकालिसकेको अर्का नेता गगन थापाले बताए। औपचारिकताका लागि केन्द्रीय समितिको बैठक आवश्यक परेको उनले बताए।
कांग्रेस नेता थापाले ट्विटमार्फत फास्ट ट्रयाकबाट संविधान संशोधन पारित गर्न सुझाएका छन्। बैठकको औपचारिकता पूरा गर्न बिहीबार नै केन्द्रीय समितिको बैठक बोलाउन पार्टी सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन्।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसले उच्च स्तरीय कुटनैतिक प्रक्रियाबाट समाधानको बाटो निकाल्न सरकारलाई सुझाएको थियो। संविधान संशोधनमा सर्वसम्मति बनाए राष्ट्रिय एकता अझ मजबुत हुने प्रधानमन्त्रीलाई कांग्रेसले सुझाव दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।