काठमाडौं- प्रतिनिधिसभाको बुधबारको बैठकले राष्ट्रियसभाबाट संशोधनसहित प्राप्त भएको ‘रेडियोधर्मी पदार्थको उपयोग नियमनसम्बन्धी विधेयक, २०७६’ स्वीकृत गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयकको संशोधनमाथि विचार गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव बैठकले बहुमतले स्वीकृत गरेको हो। यसअघि संशोधनमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री पोखरेलले विकीरणबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न अति जरुरी भएको र पारामाणिक पदार्थको नियमन तथा रेडियोधर्मी पदार्थको सुरक्षा, अनुसन्धान र नियमनका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई समेत ध्यान दिएर विधेयक ल्याइएको बताए।
संशोधनमाथिको छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले सो विधेयक गम्भीर महत्वको भएकाले विस्तृत छलफलपछि मात्रै पास गर्न आग्रह गरेका छन्। सांसद दिव्यमणि राजभण्डारीले कोरोना जोखिममा विश्व परिरहेको सन्दर्भमा हाल यस्ता विधेयक प्राथमिकतामा नपर्ने बताए।
दुई प्रतिवेदन पेश
बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले ‘कानून, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०७७’ र शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश गरेका थिए।
प्रतिवेदन पेश गर्दै सभापति पोखरेलले जनतालाई शक्तिको स्रोत मान्ने प्रकारको शासकीय स्वरुप परिवर्तन हुनुपर्ने सुझाव दिए। उनले समितिले दिएका सुझाव र निर्देशनले समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे।
त्यसैगरी संघीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीले ‘नेपाल विशेष सेवा विधेयक, २०७६’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक प्रतिनिधिसभामा टेबुल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।