काठमाडौं– साउदी अरब सरकारले रमदान र ईद पर्वको समाप्तीसँगै कोरोना संक्रमण नियन्त्रणमा विगत दुई महिनाभन्दा लामो समयदेखि लगाएका केही बन्देजका प्रावधानहरुलाई विभिन्न ३ चरणमा विभाजन गरी खुकुलो बनाउँदै लैजाने निर्णय गरेको छ।
साउदीको आन्तरिक मामिला मन्त्रालयले पहिलो चरण (मे २८ देखि मे ३०, २०२०) सम्ममा मक्का बाहेक क्षेत्र र प्रान्तहरुबीचको आवागमनलाई बिहान ६ बजेदेखि अपरान्ह ३ बजेसम्म खुल्ला गरिएको छ।
बाँकी समय लकडाउन कायम नै रहने छ । यस अघिको लकडाउनमा प्रान्त र क्षेत्रहरुबीचको आवागमन बन्द गरिएको थियो। यस अवधिमा खुद्रा तथा होलसेल पसलहरु तथा मलहरु पुनः सञ्चालनमा आउने भएका छन्।
होटल, होलसेल तथा खुद्रा पसल सुचारु भएसँगै यसबाट लामो समयदेखि रोजगारी ठप्प भएर बन्दाबन्दीमा रहेका नेपाली श्रमिकहरु पनि यसबाट लाभान्वित हुने भएका छन्।
साउदीका होटल क्षेत्र तथा सपिङ सेन्टर, महल लगायत क्षेत्रमा थुप्रै नेपाली श्रमिकहरु पनि कार्यरत छन्।
ब्युटी स्यालोन, बारबर (हजाम) सप, स्पोट्स् क्लब, हेल्थ क्लब, इन्टरटेनमेन्ट सेन्टर, सिनेमा हल लगायत क्षेत्र भने बन्द नै रहने छन्।
दोस्रो चरणका रुपमा निर्धारण गरिएको मे ३१ देखि जुन २०, २०२० मा मक्का बाहेकका क्षेत्र र प्रान्तहरुबीचको आवागमनलाई बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म खुल्ला गरिने छ। साथै कोरोना संक्रमण नियन्त्रण सम्बन्धी सबै गाइडलाइनहरुलाई पूर्ण रुपमा पालना गरी मन्त्रालय, सरकारी निकायहरु र निजी क्षेत्रका कम्पनीहरुमा कर्मचारीको उपस्थितिलाई पनि अनुमति दिएको छ। क्षेत्र र प्रान्तबीच चल्ने सार्वजनिक यातायातका साधनहरु भने सञ्चालनमा आउने छैनन्।
अन्तर्राष्ट्रिय उडानहरु पनि अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको छ। दोस्रो चरणमा पनि ब्युटी स्यालोन, बारबर (हजाम) सप, स्पोट्स् क्लब, हेल्थ क्लब, इन्टरटेनमेन्ट सेन्टर, सिनेमा हल लगायत क्षेत्र बन्द नै रहने छन्।
तेस्रो र अन्तिम चरणका रुपमा विभाजन गरिएको जून २१ पछिको अवधिमा सरकारले आर्थिक गतिविधिका सबै क्षेत्रहरु खुल्ला गर्ने र लकडाउन भन्दा अगाडिको ‘सामान्य’ अवस्थामा मुलुकलाई लैजाने योजना बनाएको साउदी प्रेसले जनाएको छ।
हालसम्म साउदीमा ७६ हजार ७ सय २६ जनामा कोरोना संक्रमण भएको छ। कुल संक्रमितमध्ये ४८ हजार ४५० निको भएका छन् । ४११ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
हाल दैनिक २ हजारभन्दा बढी संख्यामा कोरोनाको संक्रमण भएता पनि संक्रमितहरूको संख्या दिनानुदिन घट्ने क्रममा छ। सो संख्या आज दुई हजारभन्दा कम रहेको साउदीको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमणबाट निको हुनेहरुको संख्या उत्साहजनक हुनुका साथै मृतकहरूको संख्या समेत संक्रमणको तुलनामा न्यून रहेको सरकारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।