काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा सहभागी कांग्रेस नेताहरूले सुगौली सन्धिमा उल्लेख भएको कालीनदी पूर्वका सबै भूभाग नेपालकै भएको बताएको छ। कांग्रेसबाट सभापतिसहित सहभागी भएका नेताहरूले भारतसँग देखिएका विषयलाई कूटनीतिक पहलबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
'सुगौली सन्धिमा उल्लेख भएको ऐतिहासिक तथ्य बमोजिम लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूभाग हुन्। ती भूभागमा नेपालको हक निर्वाध ढंगले स्थापित हुनुपर्दछ, नेपाली कांग्रेसले विगत देखिनै प्रष्ट राख्दै आएको यो धारणा आज हामी पुनः दोहोर्याउन चाहन्छौं,' कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवाले भनेका थिए।
उसले कुटनैतिक पहलमार्फत् यो विषयको हल गर्नुपर्ने र यस विषयमा सरकारको साथमा कांग्रेस रहेको समेत नेताहरूले बताएका थिए। संविधान संशोधनका विषयमा भने केन्द्रीय समिति बैठक बसी टुंगोमा पुग्ने कांग्रेले बताएको छ।
बैठकमा कांग्रेसका तर्फबाट सभापति देउवा, रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।