काठमाडौं- आर्थिक वर्ष २०७५/७६ को तुलनामा चालु आर्थिक वर्ष २०७६/७७ मा विद्युत पहुँच पुग्ने जनसंख्या २ प्रतिशत बिन्दुले बढेर ९० प्रतिशत पुगेको छ।
मंगलबार सार्वजनिक भएको आर्थिक सर्वेक्षणअनुसार गत आर्थिक वर्षमा ८८ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुगेकोमा एक वर्ष अवधिमै २ प्रतिशत बिन्दुले बढेको देखिएको हो। गत फागुन मसान्तसम्ममा विद्युत उपभोग गर्ने ग्राहकको संख्या ४१ लाख ५५ हजार ६ सय ४० रहेको छ।
सबैभन्दा धेरै बागमती प्रदेशमा ९५ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुगेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा २७ प्रतिशत जनसंख्यामा मात्रै विद्युत पहुँच पुगेको छ।
अन्य प्रदेशहरुको अवस्था हेर्दा प्रदेश नंम्बर १, २, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशमा क्रमशः ८६ दशमलव ३, ८७ दशमलव २५, ८७ दशमलव ४८, ८९ दशमलव ०९ र ६७ दशमलव ३३ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुगेको छ।
गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा विद्युत उत्पादन ८ दशमलव ३ प्रतिशतले बढेर १ हजार ३ सय ५५ मेगावाट पुगेको छ। जसमध्ये जलविद्युतबाट १ हजार २ सय ३३ मेगावाट, थर्मल प्लान्टबाट ५४ मेगावाट र वैकल्पिक श्रोतबाट ६८ मेगावाट विद्युत उत्पादन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।