काठमाडौं- सरकारले चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा १ सय २९ वटा पुल निर्माण गरेको छ। आठ महिनाको अवधिमा सडक विभागले उक्त संख्यामा पुल निर्माण गरेको हो। प्रदेश सरकारहरुले ८ महिनाको अवधिमा ३ हजार ९ सय ५० किलोमिटर सडक पिच गरेका छन्।
यो अवधिमा सबैभन्दा धेरै बागमती प्रदेश सरकारले १ हजार २ सय ५ किलोमिटर कालोपत्रे सडक बनाएको छ भने सबैभन्दा कम कर्णाली प्रदेश सरकारले ७९ किलोमिटर सडक कालोपत्रे गरेको छ।
त्यसैगरी, प्रदेश १ ले ७ सय ३ किलोमिटर, प्रदेश २ ले ३ सय ४४ किलोमिटर, गण्डकी प्रदेशले ५ सय ७७ किलोमिटर, प्रदेश ५ ले ५ सय ८५ किलोमिटर र सुदूरपश्चिम प्रदेशले १ सय ९७ किलोमिटर सडक कालोपत्रे बनाएका छन्। सबै प्रदेशले चालू आवको ८ महिनामा ६१ हजार ३ सय ९५ किलोमिटर सडक बनाएका छन्।
यता केन्द्र सरकारले चालू आवको फागुन मसान्तसम्ममा ५ सय ५९ किलोमिटर कालोपत्रे सडक बनाएको छ। आव २०७५/७६ मा ४ सय ४० किलोमिटर नयाँ सडक, १३ सय ६३ किलोमिटर खण्डस्मित र ९ सय ८८ किलोमिटर कालोपत्रे स्तरमा सडक स्तरोन्नती भएकोमा आव २०७६/७७ को फागुनसम्म २ सय ५२ किलोमिटर माटे सडक, ६ सय ५७ किलोमिटर खण्डस्मित तथा ५ सय ५९ किलोमिटर कालोपत्रे सडक स्तरोन्नति भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।