काठमाडौं- नेपालमा भित्रने वैदेशिक लगानी चालु आर्थिक वर्ष २०७५/७६ मा पछिल्लो ४ वर्षयताकै न्यून हुनसक्ने सरकारले प्रक्षेपण गरेको छ।
डा युवराज खतिवडाले मंगलबार संसदमा प्रस्तुत गरेको चालु आर्थिक वर्षको सर्वेक्षणअनुसार यस वर्ष १ खर्ब २८ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको छ। आर्थिक वर्ष २०७२/७३ पछि चालु आर्थिक वर्षमा सबैभन्दा कम वैदेशिक लगानी भित्रिने देखिएको हो।
गत फागुन मसान्तसम्ममा १ खर्ब २८ अर्ब रुपैयाँ बराबरको कुल वैदेशिक लगानी भित्रिएपनि लगानीको प्रतिबद्धता भने १ अर्ब ८४ अर्ब ६७ करोड रुपैयाँ बराबर देखिन्छ। यसवर्षको लगानी प्रतिबद्धता पछिल्ला ४ वर्षयताकै न्यून हो। आर्थिक वर्ष २०७३/७४ मा १ खर्ब ६३ अर्ब, २०७४/७५ मा ३ खर्ब ५१ अर्ब र २०७५७६ मा २ खर्ब ८३ अर्ब रुपैयाँ बराबर वैदेशिक लगानी नेपाल भित्रिएको थियो।
फागुनसम्ममा लगानी बोर्डबाट १ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ भने उद्योग विभागबाट २९ अर्ब ६७ करोड ३० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ।
उद्योग विभागमार्फत १ सय ७१ वटा उद्योगमा लगानी भित्रिएको छ भने यसबाट ८ हजार ९ जनालाई रोजगारी सिर्जना गर्ने अनुमान गरिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विभागमार्फत २ सय १८ उद्योगहरूमा ११ अर्ब १८ करोड लगानी प्रतिबद्धता आएको थियो भने यसबाट ७ हजार ९ सय ५३ जनालाई रोजगारी भएको थियो।
नेपालमा दर्ता भएका विदेशी लगानीका उद्योगहरूमा साना उद्योग ८३ प्रतिशत, मझौला ११ प्रतिशत र ठूला उद्योग ६ प्रतिशत रहेका छन्।
आर्थिक वर्ष २०७६/७७ फागुनसम्म लगानी प्रतिबद्धताको हिसाबले सबैभन्दा बढी कुल औद्योगिक लगानीको ऊर्जामूलक उद्योगमा ५९ प्रतिशत र उत्पादनमूलक उद्योगमा २२ प्रतिशत छ। सबैभन्दा कम लगानी कुल लगानी प्रतिबद्धताको शून्य दशमलव २ प्रतिशत सूचना, प्रसारण तथा सञ्चार प्रविधिमा आधारित उद्योगमा र शून्य दशमलव ३ प्रतिशत लगानी खनिज उद्योगमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।