काठमाडौं- आज कोरोना भाइरसका ९० जना नयाँ संक्रमित थपिएका छन्। यो सहित नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए। संक्रमित हुने जिल्ला भने ४६ पुगेको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा महोत्तरीका २ जना, जुम्लामा स्थायी ठेगाना भई बारामा बसोबास गर्दै आएका २ जना, बारा पचौटा नगरपालिका- १ स्थित पिपरपट्टी माविको क्वारेन्टाइनमा रहेका ३ जना, रौतहटका २२ जना, सिरहाका ५ जना, धनुषाका १ जना गरी आज ३५ जना संक्रमित भेटिएका छन्।
यसैगरी भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १ जना, रुपन्देही प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा कोरोना पोजेटिभ आएको छ। उनीहरुमध्ये कपिलवस्तुका दुई जना, अर्घाखाँचीका २ जना, गुल्मीका २ जना, रुपन्देहीका १ जना छन्।
यस्तै सेती प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा २ जनाको कोरोना पोजेटिभ देखिएको छ। उनीहरु कैलालीका १ र अछामका १ जना छन्।
त्यसैगरी पोखरामा गरिएको परीक्षणमा स्याड्जाका २ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा १२ जनामा कोरोना पोजेटिभ देखिएको छ। उनीहरु सबै सुर्खेतका हुन्। त्यसैगरी बाँकेका ७ जनामा पनि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिएका छन्।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलस्तुका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये २ वर्षकी बालिका देखि ५५ वर्षसम्मका रहेका छन्।
आज ४३ जना कोरोना संक्रमित उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। उनीहरु आज नारायणी अस्पतालबाट डिस्चार्ज भई घर फर्केको मन्त्रालयका प्रवक्ता देवकोटाले बताए।
डिस्चार्ज हुनेमा २ महिला र ४१ पुरुष रहेका छन्। योसँगै उपचारपछि निको भएर घर फर्कनेको संख्या १५५ पुगेको छ। कोरोनाका कारण नेपालमा हालसम्म ४ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।