खोटाङ- खोटाङ जिल्लाको दिक्तेलको सरकारी जग्गा व्यक्ति विशेषको नाममा दर्ता गराउने मालपोत कार्यालय, नापी कार्यालयका कर्मचारीसहित नौ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ।
कित्ता नम्बर १३७ र ८१५को छुट जग्गा दर्ता गराउँदै उनीहरुले ४ लाख ९२ हजार २ सय रुपैया भ्रष्टाचार गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ। अख्तियारले मालपोत प्रमुख यदुनाथ दाहाल, नापी विभागका प्रमुख सियाकान्त चौधरी, मालपोत अधिकृत कटक बहादुर खत्री, मालपोत कार्यालयमा ना.सु. भिम बहादुर खत्री, तत्कालीन खरिदार टेक बहादुर खड्का, जग्गाधनि गजेन्द्रकुमार थापा, रामबहादुर थापा, तत्कालीन नापी कार्यालयका अमिन गणेश कुमार खिडहरी, जग्गा मालपोत कार्यालय खोटाङका कर्मचारी टेक बहादुर खड्का र मालपोत कार्यालय खोटाङका तत्कालीन ना.सु. चन्द्र बहादुर कार्कीको मिलेमतोमा सार्वजनिक जग्गा व्यक्तिको बनाएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
उक्त जग्गाबाट जग्गाधनीले अधिग्रहणका लागि ६३ हजार ८ सय रुपैयाँसम्म लिएको र पुनः सार्वजनिकबाट छुट जग्गा देखाई आफ्नो नाममा ल्याएको अख्तियारको अनुसन्धानमा देखिएको छ। अख्तियारले सबै प्रतिवादीसँग ४ लाख ९२ हजार २ सय बिगो, सोही बराबरको जरिवाना र भ्रष्टाचार निवारण ऐनअनुसार कैद सजायको माग दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।