काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रारम्भिक दिनका तयारीमा अलमलजस्तो देखिएता पनि कोरोना नियन्त्रणका कदमहरू सफल भएको दाबी गरेका छन्।
दक्षिण एसियाका कतिपय मुलुकहरूको तुलनामा नेपालमा महामारी नियन्त्रणको स्थिति प्रभावकारी भएको प्रधानमन्त्री ओलीले दाबी गरे।
राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लकडाउन समयमै गरिएकोले जोखिम कम भएको दाबी गरे। उनले भने, ‘अन्तर्राष्ट्रिय सीमा नाका र उडानहरु बन्द गर्ने निर्णय र समयमै तय गरिएको अस्पताल सेवा सञ्चालन कार्यविधिको तर्जुमा र कार्यान्वयनलगायतका कदमहरुले महामारीबाट हुनसक्ने डरलाग्दो क्षतिलाई जोगाएको छ।’
कोरोना संक्रमणबाट शिशुदेखि वृद्धसम्म निको भई घर फर्कनु उपलब्धी भएको भन्दै प्रधानमन्त्रीले खुसी व्यक्त गरे। उनले भने, ‘२ महिनाका शिशुदेखि ८१ वर्षीया वृद्धासम्मलाई निको पार्न सकिनुलाई उपलब्धिका रुपमा लिइनुपर्छ।’
नेपालले चालेको कदम प्रभावकारी भएपनि ढुक्क भएर बस्ने स्थिति भने नबनेको बताए। उनले भने, ‘कोरोनाविरुद्धको हाम्रो लडाइँ निकै चुनौतीपूर्ण र लामो छ भन्ने यथार्थप्रति सरकार सचेत छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।