काठमाडौं- सोमबार कोरोना पुष्टि भएका काठमाडौं टोखाका दुईमध्ये एक जना किराना पसल सञ्चालक भएको पाइएको छ। किनारा पसल सञ्चालन गर्दै आएका उनमा अन्य व्यक्तिसँगको सम्पर्कबाट सरेको हुनसक्ने अनुमान गरिएको टोखा नगरपालिका मेयर प्रकाश अधिकारीले बताए।
कोरोना पुष्टि भएका अर्का व्यक्ति भने टोखामा भाडामा बस्ने व्यक्ति भएको उनले बताए। लकडाउनको समयमा उपत्यका बाहिर गएर उपत्यका आएको हुनसक्ने मेयरको अनुमान छ।
किराना पसलेलाई भने कसरी संक्रमण भएको भन्ने यकिन हुन नसकेकाले उनको सम्पर्कमा रहेका व्यक्तिहरुको पिसिआर परिक्षण गर्ने तयारी भइरहेको मेयर अधिकारीले बताए।
भाडामा बसेका व्यक्तिमा पनि देखिएकाले उनको सम्पर्कमा रहेका व्यक्तिहरुको पनि परीक्षणको तयारी भइरहेको उनले बताए। हालसम्म नगरपालिकाले ३०६ जनाको स्वाव संकलन गरेर पठाएकोमा केहीको रिर्पोट आउँदा २ जनामा संक्रमण देखिएको उनले बताएका छन्।
कोरोना देखिएका किराना पसलेको पसल हाललाई सिल गरिएको छ। उनको परिवारका सदस्यहरुको परीक्षणपछि मात्र किराना पसल सञ्चालन गर्न दिने उनले बताए। टोखा नगरपालिका ३ र ६ नम्बर वडामा दुई जनामा संक्रमण पुष्टि भएको थियो। टोखा ३ का २७ र ६ का ४१ वर्षका उनीहरुमा संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।