काठमाडौं- कोरोना भाइरसका कारण ज्यान गुमाएकी सिन्धुपाल्चोककी सुत्केरी महिला बाहेक अन्य सबैको रिर्पोट नेगेटिभ आएको छ।
प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल शरदले मृतक सुत्केरी बाहेक अन्यमा कोरोना संक्रमण नभएको पाइएको बताए।
बाह्रबिसे नगरपालिका- ९ राम्चेकी सुत्केरी महिलाको निधनपछि उनका परिवार, गाउँ र माइती पक्षका मानिसहरूको कोरोना परीक्षण गरिएको थियो। सुत्केरीका परिवार तथा नजिकका व्यक्ति र सम्पर्कमा आएका १ सय ९५ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो। नवजात शिशु, सासु, श्रीमान र बहिनीलाई धुलिखेलमा राखी कोरोना परीक्षण गरिएको थियो।
परिवारका सदस्य र बालक डिस्चार्ज भएर गाउँकै क्वारेनटाइनमा रहेका छन्। सुत्केरीसँगको सम्पर्कमा रहेकामध्ये शुक्रबार र शनिबार गरेर १ सय ८७ जनाको रिर्पोट आएको थियो। उनीहरूको रिर्पोट नेगेटिभ आएको थियो। आइतबार बाँकी परीक्षणमा ८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।
सुत्केरी महिलाको माइती गाउँ सुनकोशी गाउँपालिकाका–४ यमुनाडाँडाका ६ जना र साविकको ठोकर्पाका दुई जनाको रिपोर्ट नेगेटिभ आएको हो। चालककी श्रीमती सुत्केरी बोकेको गाडीमा चढेर माइत गएकी थिइन्। यसअघि राम्चे र बाह्रबिसेमा कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गरिएकाको पिसिआर परीक्षणमा १ सय ८७ जनाको रिपोर्ट नेगेटिभ आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।