काठमाडौं- वैदेशिक रोजगारीमा गएका नेपालीहरुले आफू कार्यरत कम्पनीको सहकार्यमा स्थानीय बैंक मार्फत नेपालमा रेमिट्यान्स पठाउन पाउने भएका छन्। विश्वका विभिन्न देशमा रहेका नेपाली कामदार कार्यरत कम्पनी तथा त्यस देशमा रहेका बैंक वित्तीय संस्थासँगको सहकार्यमा कामदार कार्यरत कम्पनीले सम्बन्धित बैंकमा खाता खोल्नुपर्नेछ।
उक्त खातामा कामदारको पारिश्रमिक जम्मा गरी सोही खातामा रहेको रकम मध्येबाट कम्पनी प्रतिनिधिको अनुरोधमा कामदारले तोकेको हिताधिकारीको नाममा भुक्तानी हुनेगरी विदेशी मुद्रा विप्रेषण गरी नेपाल पठाउन सक्नेछ।
उक्त रकम नेपालमा प्राप्त गरिसकेपछि सम्बन्धित विप्रेषण प्रदायकले नेपालस्थित हिताधिकारीलाई विद्यमान व्यवस्थाअनुरुप भुक्तानी गर्नसक्ने छन्। कोभिड- १९ को विद्यमान अवस्था कायम रहेसम्मको अवधीका लागि यस्तो व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
विदेशबाट रकम पठाउने बैंकले नेपालमा रहेको हिताधिकारीको सम्पुर्ण विवरण विद्यमान व्यवस्था अनुरुप उपलब्ध गराउनुपर्नेछ। साथै यसरी प्राप्त विवरणको आधारमा नेपालस्थित विप्रेषण प्रदायक बैंक वित्तीय संस्था एवं कम्पनीले अन्तिम हिताधिकारी यकीन गरी नेपाली रुपैयाँमा भुक्तानी गर्नुपर्नेछ।
एएमएल सिएफटी सम्बन्धमा कायम रहेको विद्यमान व्यवस्था पूर्णरुपले पालना गर्नुपर्नेछ। यसरी कारोबार गर्दा अस्वभाविक कारोबार भएको पाइएमा तत्काल कारोबार बन्द गरी नेपाल राष्ट्र बैंकलाई जानकारी गराउनुपर्नेछ। यस व्यवस्थाअन्तर्गत कारोबार गर्ने रकमको सीमा प्रतिदिन प्रतिपटक प्रतिव्यक्ति अधिकतम १५ सय अमेरीकी डलर हुनुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।