काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठ व्यापारीसँग घुस लिने दोलखा डिभिजन वन कार्यालय दोलाखामा कार्यरत वन अधिकृत सन्तमाया श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
दशौँ तहमा कार्यरत रहेकी वन अधिकृत काठ व्यवसायीहरूसँग विभिन्न बहानामा घुस बार्गेनिङ गरी पदीय दायित्व समेतको ख्याल नगरी बद्नियतपूर्वक काठ व्यवसायीहरूलाई अनुचित प्रभावमा पारी घुस लिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
डिभिजन वन कार्यालय दोलखामा कार्यरत डिभिजन वन अधिकृत काठ व्यापार गर्ने व्यापारीहरुसँग घुस उठाई सरकारी गाडीमा दोलखाबाट काठमाडौं आउदैं गरेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको थियो।
श्रेष्ठसँग अख्तियारको टोलीले २ लाख ३ हजार ५ सय रुपैयाँ फेला पारेको थियो। घुस सहित पक्राउ परेकी वन अधिकृतलाई थप अनुसन्धान गर्दै आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले वन अधिकृत श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन अनुसार कैद, घुस रकम बराबरको बिगो र जरिवाना गर्न माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।