काठमाडौं- धनुषामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित एक व्यक्ति अस्पतालको आइसोलेन वार्डबाटै फरार भएका छन्।
प्रादेशिक अस्पताल जनकपुरमा उपचाररत सर्लाहीका ४५ वर्षीय कारोना संक्रमित व्यक्ति फरार भएको प्रदेश २ का डिआइजी धिरज प्रताप सिंहले नेपाल लाइभलाई जानकारी दिए।
कारोना जाँच गर्दा पुष्टि भएपछि उनको प्रादेशिक अस्पतालमा भर्ना गरिएर उपचार गरिएको थियो। कोरोना संक्रमितको मनिटर गर्न राखेको सिसी टिभी समेत फुटाएर झ्याल फोडेर उनी गएराति फरार भएको डिआइजी सिंहले बताए।
फरार भएका व्यक्तिको मानसिक सन्तुलन समेत ठिक नभएको पाइएको छ। उनको खोजी भइरहे पनि अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ। कोरोना संक्रमित फरार भएपछि अस्पताल आसपासका मान्छे त्रसित भएका छन्।
यसअघि पनि नारायणी अस्पताल पर्सामा उपचाररत दुई जना कोरोना संक्रमित व्यक्ति फरार भएका थिए। उनीहरुलाई प्रहरीले पक्राउ गरेर पुन अस्पताल पुर्याएको थियो।
कोरोना संक्रमित व्यक्ति फरारको अवस्थामा पक्राउ गर्न गोली समेत हान्न सकिने निर्णय पर्सा प्रशासनले गरेको थियो। पछि यसको चौतर्फी विरोध भएपछि उक्त निर्णय खारेज भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।