काठमाडौं- सोमबार बस्ने भनिएको राष्ट्रिय सभाको बैठक मंगलबारका लागि सरेको छ। सोमबार मुस्लिम समुदायको महान पर्व इद उल फित्र परेको र सो अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा घोषणा गरेको हुनाले नियमावली अनुसार सूचना टाँस गरी जेठ १३ गते ११ बजेका लागि बैठक तोक्ने निर्णय कार्यव्यवस्थाले गरेको हो।
सिंहदरबारमा बसेको कार्य व्यवस्थाले नेपालको नक्सा अध्यावधिक भएको सन्दर्भमा संघीय संसदको लोगो (प्रतीक) र राष्ट्रिय सभाका माननीय सदस्यले प्रयोग गर्दै आएको प्रतीकलाई अध्यावधिक नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको छ।
साथै संघीय संसदका दुवै सदनमा माननीय सांसदले प्रयोग गर्दै आएको लोगोमा एकरुपता ल्याउने र त्यसका लागि प्रतिनिधि सभालाई अनुरोध गर्ने निर्णय राष्ट्रिय सभाको कार्यव्यवस्थाले गरेको छ।
राष्ट्रिय सभा नियमावली २०७५ को नियम २२१ बमोजिम सांसदहरुको पोसाक र संघीय संसदको प्रतीक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षले तोके बमोजिम हुने निर्णय पनि कार्यव्यवस्थाले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।