काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगिसकेको छ। जसमा ३ जनाले ज्यान समेत गुमाइसकेका छन्। कोरोना संक्रमितहरूमध्ये पनि पुरुषको संख्या बढी छ। कुल कोरोना संक्रमितमध्ये ५ सय ५ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ भने ७९ महिलामा मात्रै कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म गरिएको ४५ हजार ९ सय ५९ पिसिआर परीक्षणमा ५ सय ८४ जनामा कोरोना संक्रमण देखिएको हो। यसैगरी मन्त्रालयले परीक्षणको रिपोर्ट सार्वजनिक नगरे पनि हालसम्म ८६ हजार २ सय ३५ जनाको आरडिटी किट मार्फत कोरोना परीक्षण गरिसकेको छ।
विश्वमा कोरोनाको प्रभाव ५० वर्षभन्दा माथिको उमेर समूहमा बढी देखिए पनि नेपालमा भने युवामा बढी कोरोना संक्रमण देखिएको छ।
मन्त्रालयका अनुसार अहिले ३२ हजार ५ सय ८७ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ सय ११ जना आइसोलेसनमा रहेका छन्।
संक्रमितहरूमध्ये सबैभन्दा बढी प्रदेश-५ मा रहेका छन् भने कम संक्रमितको संख्या कर्णाली प्रदेशमा रहेको छ। प्रदेश- १ मा ८६ जनामा कोरोना संक्रमण देखिएको छ भने २६ जना निको भई घर फकिसकेका छन्। यसैगरी प्रदेश- २ मा १ सय ७२ जनामा संक्रमण देखिएको छ भने ६ जना निको भई घर फर्किसकेका छन्। बागमती प्रदेशमा भने संक्रमितको संख्या ३२ रहेको छ भने निको भई घर फर्कनेको संख्या ९ रहेको मन्त्रालयले जनाएको छ।
यसैगरी गण्डकी प्रदेशमा संक्रमितको संख्या ५ र निको भई घर फर्कनेको संख्या २ रहेको छ। यसैगरी प्रदेश ५ मा कुल २ सय ७१ मा संक्रमण देखिएको छ भने २२ जना निको भई घर फर्केका छन्।
साथै कर्णाली प्रदेशमा अहिलेसम्म ४ जनाको संक्रमण देखिएको छ। यसैगरी सुदूरपश्चिम प्रदेशमा भने १४ जनामा संक्रमण फेला परेको छ भने ५ जना उपचारपछि घर फर्केका छन्।
कुन उमेर समूहमा कति?
नेपालमा कोरोना संक्रमण देखिएकfमध्ये सबैभन्दा बढी २१ देखि ३० वर्षको उमेर समूहमा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो उमेर समूहमा मात्रै २ सय १८ जनामा संक्रमण देखिएको छ। यसैगरी ३१ देखि ४० वर्षका उमेर समूहको १ सय ३९ जनामा कोरोना देखिएको छ।
उमेर समूहअनुसारको संक्रमण चार्टमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।