काठमाडौं- विश्वभर स्थापित संरचनामा आमूल परिवर्तन ल्याएको कोरोना भाइरसले अटोमोबाइल क्षेत्रमा पनि परिवर्तन ल्याउँदैछ। सवारी बिक्री, यसको परम्परागत शैली र ग्राहकको माग तथा क्षमता सबैमा यसले फेरबदल गराइदिने निश्चित छ।
कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिमा अटोमोबाइल व्यवसायमा तत्काल पर्ने समस्याका विषयमा मैले अघिल्लो साता नेपाल लाइभमा प्रकाशित लेखमा केही चर्चा गरेको छु।
यस्तो विषम परिस्थितिमा आफूलाई जीवित राख्न सवारी साधन बिक्रेताहरूले कसरी काम गर्नुपर्छ भन्ने विषयमा यहाँ चर्चा गरिएको छ।
१. ठूला शोरुमको खर्च घटाउने- समयको मागअनुसार अब भर्चुअल शोरुमको सुरुवात गर्ने र डिजिटल प्याल्ट्फर्मबाट बिक्री प्रकृया पुरा गर्नुपर्ने देखिएको छ। ठूला शोरुम घुम्न ग्राहक नआउने भएकाले शोरुमको आकार घटाएर भाडा कम गरी आय बढाउन सकिन्छ।
२. मल्टिब्राण्ड शोरुमको सुरुवात गर्ने- नेपालमा आयातकर्ता आफैंले काठमाडौंमा आफ्नो एक्स्क्लुसिभ शोरुम सञ्चालन गर्ने गरेको र त्यसै प्रकारले नेपालका अन्य मुख्य शहरहरूमा पनि त्यस्तै एक्स्क्लुसिभ शोरुमसहितका डिलरहरू सञ्चालन गर्ने गरेको पाइन्छ। तर‚ अहिलेको अप्रत्यासित प्रकोपले गर्दा काठमाडौं बाहिर कार तथा नयाँ मोटरसाइकल खरीद गर्ने ग्राहकको संख्यामा कमी आउने भएकाले यस्तो परिस्थितिमा आयातकर्तासँग समन्वय गरी मल्टिब्राण्ड शोरुम सञ्चालन गर्न दिने व्यवस्था गर्न सकिन्छ। यसो गरेमा डिलरहरूको धेरै खर्च घट्छ तथा डिलर जीवित रहन सक्छन्।
३. अनावश्यक खर्च कटाउने- व्यवसायीहरू अप्ठ्यारो परिस्थिति आउने बित्तिकै खर्च घटाउनुपर्यो भन्न थाल्छन्। वास्तविक रूपमा हेर्ने हो भने सबै खर्च नराम्रा हुँदैनन्। हतार गरेर व्यवसाय सञ्चालनका लागि चाहिने क्षेत्रमा भइरहेका खर्चहरूलाई घटाउनु हुँदैन। भविष्यमा फेरि त्यही क्षेत्र तयार गर्नलाई झन् ठूलो खर्च चाहिन सक्छ। त्यसैले खर्च घटाउनुअघि खर्चको वर्गीकरण गर्नुपर्छ।
४. डाउन साइजमा कम्पनी चलाउने- अहिलेको परिस्थितिमा अटोमोबाइल व्यवसायी कसैले विभिन्न शीर्षकमा खर्च बढाएर व्यापार विस्तार गर्ने विषयमा सोचेको भए त्यो केवल एउटा दिवा स्वप्नमात्र हुनेछ। यस्तो परिस्थितिमा व्यापार विस्तार गर्नेभन्दा पनि भइरहेको व्यापारलाई कसरी टिकाइराख्ने भन्ने विषय प्रमुख हुन आउँछ। तसर्थ, अबको कम्तिमा एकदेखि दुई वर्षसम्मका लागि व्यवसायमा टिकिरहनु नै ठूलो चुनौति हुनेछ। यस्तो अवस्थामा कम्पनीहरूले जति सक्दो चाँडो कम्पनीका शाखा कार्यालयलाई गाभ्ने र मिलेसम्म एक प्रदेशमा एक कार्यालयमात्र सञ्चालन गर्नेगरी आफूलाई तयार गर्नुपर्ने हुन्छ। शाखा कार्यालय घटाउने, अनुत्पादक क्षेत्रमा र सुपरभाइजरी जिम्मेवारीमा रहेका स्टाफ हटाउने वा अन्य उत्पादनमूलक क्षेत्रमा खटाउने कार्य तुरुन्तै गर्नुपर्छ। समग्रमा कम्पनीहरूले आफूलाई मिल्नेसम्म डाउनसाइज गर्नुपर्छ।
५. डिलर मनिटरिङ र सञ्चालनको फरक तरिका अपनाउनुपर्ने- पहिलेजस्तो सहरैपिच्छे डिलर खोल्दै जाने अवस्था अब रहेन। डिलरहरूको आर्थिक अवस्था र घट्दो बिक्रीको अवस्था हेरेर भएका डिलरहरूलाई कसरी टिकाउन सकिन्छ भनेर सोच्ने समय आइसकेको छ। साथै, पहिलेजस्तै वार्षिकरूपमा बजार प्रक्षेपण गर्ने र त्यसैको आधारमा मासिक लक्ष्य निर्धारण गरेर डिलरहरूकोमा गाडीहरूको इन्भेन्ट्री थोपर्ने आयातकर्ता र डिलरबीचमा हुने गरेको यस्तो बिक्री प्रकृयालाई तुरुन्त बन्द गरी रिटेल पुल मोडेलमा काम गर्नुपर्छ। डिलरहरूको रिटेल नभई अर्को गाडी डिलरहरूलाई दिनु हुँदैन। डिलर एक्लैलाई रिटेलको जिम्मा दिएर आयातकर्ताका कर्मचारीहरू उम्किन पाउने अवस्था सिर्जना हुनु हुँदैन। यो नै डिलरहरूलाई बचाउने एकमात्र आधार हुनेछ।
६. ध्यान दिनुपर्ने अन्य क्षेत्रहरू- आयतकर्ता र डिलरहरू दुवैले अहिलेको विषम परिस्थितिमा मुख्यगरी ध्यान दिनुपर्ने अन्य क्षेत्रहरूलाई बुदाँगतरूपमा यसरी उल्लेख गर्न सकिन्छ:
क) अत्यावश्यक संख्यामा मात्र इन्भेन्ट्री राख्ने।
ख) समस्या पर्यो भनेर ओभर क्यासफ्लो नराख्ने, आवश्यक क्यासफ्लोको राम्रोसँग योजना बनाउने।
ग) गाडी बिक्रीलाई मात्र आयको मुख्य साधनको रूपमा लिनुहुँदैन, कार एसेसरिज बिक्री, एएमसी बिक्री, स्पेस्लाइज्ड मेन्टेनेन्स सर्भिसेजहरूको बिक्रीमा पनि ध्यान दिनुपर्ने।
घ) जति सकिन्छ ऋणको ब्याज घटाउन पहल गर्ने।
ङ) शोरुम तथा वर्कशपको लागि कमभन्दा कम क्षेत्र उपयोग गरी त्यसमा लाग्ने भाडाको खर्च घटाउनेतlर ध्यान दिनुपर्ने।
कोरोनाको प्रकोपले अटोमोबाइल व्यवसायमा ठूलो नकरात्मक प्रभाव परेको छ। यसले कम्पनीको संरचनागत परिवर्तन गर्न र डिजिटलाइजेसनमा अगाडि बढ्ने अवसर पनि देखिएको छ।
यसरी हेर्दा कोरोनाको प्रकोपले अटोमोबाइल व्यवसायमा ठूलो नकरात्मक प्रभाव परेको छ। यसले कम्पनीको संरचनागत परिवर्तन गर्न र डिजिटलाइजेसनमा अगाडि बढ्ने अवसर पनि देखिएको छ। कोभिड-१९ को प्रकोप कम हुँदै गएपछि सबैभन्दा पहिले सुधार हुने क्षेत्र ग्रामीण क्षेत्र हुनेछ भने त्यसपछि अलि ठूला सहरहरू र अन्तिममा प्रदेश तथा केन्द्रको राजधानी क्षेत्रमा सुधार हुनेछ।
तसर्थ, आजैदेखि व्यावसायिक बनाउँदा आयातकर्ता डिलरहरूले सोहीअनुसार बनाउनुपर्ने देखिन्छ। कोरोनाको समस्या कम हुँदै गएपछि दुई चक्के साधनहरूको सबैभन्दा धेरै माग सिर्जना हुने अनुमान गर्न सकिन्छ भने त्यसपछि 'इकोनोमी क्लास'का कार र इलेक्ट्रिक भेइकलको माग आउनेछ।
विदेशबाट फर्किने नेपालीहरू बढी मात्रामा स्वरोजगार हुने काममा लाग्ने हुँदा साना ढुवानीका साधनको माग २/३ महिनापछि बढ्न सक्छ। त्यसैगरी स्कूल बस र सार्वजनिक बसको माग तुरुन्तै आउने सम्भावना देखिँदैन। तर 'सोसल डिस्टेन्सिङ'को कारणबाट बसहरूमा अहिले भइरहेको सिटभन्दा बढी संख्यामा सिटहरूको आवश्यकता पर्न सक्छ। जसले गर्दा यो क्षेत्रमा पनि करिब ६/७ महिनापछि माग बढ्न सक्छ। तर अहिले लकडाउन खोलिएका केही विकसित देशको सार्वजनिक यातयातको अवस्था हेर्दा मानिसहरूले सोसल डिस्टेन्सिङको नियम पालना गरेको देखिएको छैन। तसर्थ, सार्वजनिक यातायातको क्षेत्रमा खासै आशा गर्ने ठाँउ छैन।
(शिवाकोटी नाडा अटोमोबाइल्स एसोसिएसनका कार्यसमिति सदस्य हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।