बुटवल- बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराएका १० कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। दुई हप्ता अगाडि कोरोना संक्रमण भएर अस्पतालको आइसोलेसनमा भर्ना भएका कपिलवस्तुका युवाहरु निको भएर घर फर्किएको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा सुुदर्शन थापाले जानकारी दिए।
'उहाँहरुमा आत्मबल बलियो भएका कारण उपचारमा सहज भयो,' थापाले भने, 'निको हुने व्यक्ति १६ देखि ४० वर्ष उमेर समूहका छन्।' भारतबाट लुुकिछिपी आएका युवामा संक्रमण देखिएको थियो। संक्रमितको लगातार दुई कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।
'कोरोनाबाट डराउनुपर्दैन। मनोबल उच्च राखे छिट्टै निको हुन्छ,' डा थापाले भने, 'यसबाट बच्न घरमै रहनु नै उत्तम हुन्छ।' बुटवलकोे कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुुका ३६ जनाले उपचार गराएकामा कपिलवस्तुका १० जना डिस्चार्ज भए पनि आजै थप सात जना संक्रमित भर्ना भएको डा थापाले जानकारी दिए।
यसअघि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युुवक निको भएर घर फर्किएका थिए। शुक्रबार बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २१ जना कोरोना जितेर घर फर्किएका थिए भने शनिबार दिँउसो वीरगञ्जस्थित नारायणी अस्पतालबाट ९ जना निको भएर डिस्चार्ज भएका थिए।
योसँगै नेपालमा कोरोना संक्रमणमुक्त भएर घर फर्कनेको संख्या ८९ पुगेको छ। कोरोना भाइरस संक्रमणबाट तीन जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म ५८४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ।
मुख्यमन्त्रीको बधाई
प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुटवलको प्रदेशस्तरीय कोराना विशेष अस्पतालबाट कोरोना भाइरस जितेर बिदा हुनुभएका युवालाई बधाई दिएका छन्। 'बधाई स्वास्थालाभ गर्नुहुने सबैलाई। अनि बधाई छ उपचारमा संलग्न चिकित्सक, स्वास्थकर्मी र व्यवस्थापक र अन्य सहयोगी सबैलाई,' सामाजिक सञ्जाल फेसबुकमार्फत् मुख्यमन्त्रीले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।