काठमाडौं- विगत केही महिनादेखि पोखराको लेकसाइडस्थित एक अपार्टमेन्टमा बस्दै आएका पूर्व युवराज पारस शाहको शुक्रबार एक्कासी छातिमा समस्या आयो।
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी दानबहादुर कार्कीका अनुसार छातिमा समस्या आएपछि पारसले पोखरामा फार्मेसी चलाएर बसेका आफ्ना परिचित मित्र श्रीमन कुँवरलाई फोन गरेर सल्लाह लिएका थिए। एसपी मल्लले भने, ‘कुँवर र पारसबीच फोन भएको कल डिटेल पनि देखिन्छ।’
पारसले छोरी भन्ने गरेका पोखराकै एलिना शर्माले पनि राति पारसलाई फोन गरेकी थिइन्। उनलाई समस्या भएको जानकारी पाएपछि शर्मा आफैंले पारसलाई फोन गरेकी थिइन्।
कुवँरले पनि अस्पताल जानुपर्ने सुझाव दिए। तर राति जाँच गराउन जानका लागि उनका नियमित चालक उठेर कार हाँक्न सक्ने अवस्थामा थिएनन्। त्यसपछि उनले अर्का एक सहयोगी अशोक गुरुङलाई आफ्नो बा १४ च २१३१ नम्बरको कार चलाउन लगाएर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल जान अपार्टमेन्टबाट निस्किए।
फार्मेसीमा पुगेपछि पारसले कुँवरलाई पनि लिएर अस्पताल हिँडे। अस्पताल जाँदै गरेको कार पृथ्वीचोकमा पुगेपछि एक बाच्छा र एक गोरीलाई ठक्कर दिन पुग्यो। बाच्छो घटनास्थलमै मरेको थियो। ‘राति सडक क्रस गर्नेबेला बाच्छो एक्कसी कुदेर आएपछि ठोक्किएको हो’ चालक गुरुङको भनाइ उदृत गर्दैै एसपी कार्कीले नेपाल लाइभसँग भने‚ ‘कारको ठक्करबाट गोरु भने घाइते भएको छ।’
बाच्छो मारेको पाइएपछि चालक र कारलाई नियन्त्रणमा लिइएको एसपी कार्कीले बताए। पक्राउ परेका गुरुङविरुद्ध मुलुकी अपराध संहिता २०७४ को पशुपंक्षीसम्बन्धी अपराधको कसुरमा आइतबार म्याद थप गरेर अनुसन्धान गरिने कार्कीले बताए। पारसले कार नचलाएको भएकाले उनीविरुद्ध भने मुद्दा नचल्ने कार्कीले बताए। दुर्घटना भएपछि अर्को कारमार्फत पारसलाई अस्पताल लगिएको थियो। उनको स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै डाक्टरले फर्काइदिइएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।