काठमाडौं- नेपाली कांग्रेसका सांसद गगन थापाले नेपालको संविधानमा रहेको निशान छाप परिर्वतनका लागि फास्ट ट्र्याक प्रक्रियाबाट गर्न प्रस्ताव गरेका छन्।
संविधानको धारा ९ को उपधारा (२) सँग सम्बन्धित अनुसूची ३ मा नेपालको परिवर्तित नक्सासहितको नेपालको निशान छाप समावेश गर्न सरकारले संसदमा दर्ता गरेको संसोधन प्रस्ताव छिट्टै पारित गर्नुपर्ने भएकाले यस्तो प्रक्रिया अबलम्वन गर्न उनले सो प्रस्ताव गरेका हुन्।
थापाले राष्ट्रिय प्रतिबद्धताको विषय भएकोले द्रूतगतिमा सर्वसम्मत रुपमा प्रस्तावलाई पारित गर्नुपर्ने बताएका छन्। ‘नेपालको परिवर्तित नक्सा संविधानको अंग भएसँगै राष्ट्रिय स्वाभिमानको लडाईंमा एउटा महत्वपूर्ण अध्यायको सुरुवात हुने उनले बताए। यस उप्रान्तको काम कूटनीतिक रुपमा अझै जिम्मेवारीपूर्वक गर्नुपर्नेछ। यतिखेर भारतले नेपाली भू-भागमा उपस्थितिसँगै नियन्त्रण राखेको अवस्था छ। अबको बाटो भनेको हामीले हाम्रो भू-भागबाट भारतको उपस्थिति तथा नियन्त्रणको अन्त्य गरी आफ्नो प्रभावकारी नियन्त्रण स्थापित गर्ने हो,’ थापाले उल्लेख गरेका छन्‚ ‘यसका लागि सीमासँग सम्बन्धित विषयमा नेपाली कांग्रेसका सांसद र नेकपाका सांसदले दर्ता गराउनु भएका दूई भिन्न-भिन्न संकल्प प्रस्ताव संसदमा दर्ता छन्। बदलिएको परिवेशमा यी दुई संकल्प प्रस्तावलाई पुनर्लेखन गरी परिवर्तित नक्सामा उल्लेख गरिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको हाम्रो भूभाग नेपालको पूर्ण नियन्त्रणमा ल्याउने संकल्पसहितको ’साझा संकल्प प्रस्ताव’ मस्यौदा गरौं र सर्वसम्मत रुपमा संसदबाट संकल्प पारित गरौं।’ त्यस्तै उनले नेपालको आन्तरिक विषय तथा मामिलाहरुमा मतभेद भए पनि राष्ट्रिय स्वाभिमान, स्वाधिनता र स्वनिर्णयको विषयमा मतभेद हुन नहुने बताएका छन् ।
संघीय गणतान्त्रिक नेपालको राजनीतिक इतिहासमा पहिलो पटक सबै सशक्त रुपमा, आपसी मतभेदहरुलाई पाखा लगाएर राष्ट्रिय स्वाभिमानका खातिर परिवर्तित नक्सा जारी गर्ने सन्दर्भमा एक ढिक्का भएर उभिएको भनदै थापाले भनेका छन्, ‘नेपाली स्वाभिमानको विषयमा बनेको यस राष्ट्रिय एकताले नेपाली भू-भागमा नेपाली सार्वभौम शक्ति स्थापित नभएसम्म थप बलियो ढङ्गले निरन्तरता पाउन जरूरी छ। यस सन्दर्भमा नेपालले लिने कुटनीतिक बाटो तथा पहलहरुमा हामी-हामीबीच कार्यगत स्पष्टता ल्याउन आपसी रुपमा विविध प्रयास तथा अभ्यास हुन आवश्यक छ। यसले अहिले बनेको राष्ट्रिय एकतालाई अझ सुदृढ तथा दिगो गर्न मद्दत गर्नेछ।’
संविधानमा नक्सा संसोधन गरेसँगै, यथास्थितिमा नेपाली भू–भागमा रहेको भारतको उपस्थिति तथा नियन्त्रणबाट नेपाली भूभाग प्रभावकारी रूपमा नियन्त्रणसहित फिर्ता लिई छाड्छौं भन्ने संकल्प गर्नुपर्नेमा पनि उनको जोड छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।