काठमाडौं- शनिबार मात्रै नेपालमा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका अनुसार शुक्रबार बिहान ३२ जना संक्रमित थपिएका हुन् भने दिउँसो ३६ जना थपिएका हुन्।
शनिबार दिउँसो ४ बजेर १५ मिनेट जाँदा मन्त्रालयले आयोजना गर्ने नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। बैतडीमा ४ जना, झापामा १, बाँकेमा २७ बर्दियामा १ र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण देखिएको उनले बताए। यसअघि मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बिहान ३२ जनामा कोरोना संक्रमण पाइएको जानकारी दिएका थिए।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पतालत कोभिड १९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षणमा थप कोरोना संक्रमण पुष्टि भएको जानकारी अधिकारीले दिएका थिए। संक्रमितहरु कपिलवस्तु, सर्लाही, बारा, रुपन्देही र चितवनका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा शनिबार ८:४० मा जारी सूचनामा उल्लेख थियो।
यो सहित नेपालमा संक्रमितको संख्या ५ सय ८४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्।
हालसम्म नेपालमा संक्रमण पुष्टि भएकामध्ये ७० जना अहिले संक्रमणमुक्त भएका छन् भने ३ जना संक्रमितको भने मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।