काठमाडौं- कोरोना संक्रमणबाट मृत्यु भएकी बाह्रबीसेकी महिलाको परिवारसँगै सम्पर्कमा आएका १ सय ८७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। बाह्रबिसे नगरपालिका–९ राम्चे र बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा संकलन गरिएको थ्रोट स्वाब परीक्षणका लागि हेटौंडास्थित कीटजन्य रोग अध्ययन तथा तालिम केन्द्र लगिएको थियो।
१ सय ८७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको र बाँकी ८ जनाको पनि परीक्षण भइरहेको प्रदेश ३ का सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी तथा चिकित्सक महाशाखा प्रमुख डा पुरुषोत्तम सेढाईं बताए। बाँकी ८ जनाको नतिजा पनि आजै आउने उनले बताए।
बागमती सरकार र जिल्ला स्वास्थ्यकर्मीको टोलीले संक्रमितको कन्ट्याक्ट ट्रेसिङका आधारमा शंकास्पदहरूको स्वाब संकलन गरेको थियो। राम्चे, बाह्रबिसे र प्रारम्भिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।
सुनकोसी–४ यमुनाडाँडाका ६ जना र साबिक ठोकर्पाका दुई जनाको रिपोर्ट आउन बाँकी रहेको छ। जिल्लाभर हालसम्म २ सय ८० को पिसिआर र ७ सय २ को आरडिटी गरिएको छ। धुलिखेल अस्पतालमा रहेका उनको श्रीमान, छोरा र अन्य परिवारका सदस्यमा संक्रमण नदेखिएपछि उनीहरु गाउँ फर्केका छन्।
शिशुसहित परिवारका सदस्यहरुलाई एक सातासम्म सुनकोसी गाउँपालिकास्थित क्षेत्रीय क्वारेन्टाइनमा राखिने भएको छ। एक सातापछि फेरि पिसिआर परीक्षण गरेपछि मात्रै घरमा पठाइने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।