बुटवल- बुटवलमा रहेको हाइलाइफ फुड प्रोडक्ट प्रालिले छिमेकी मुलुक भारतबाट फर्केर आई क्वारेन्टाइनमा बसेकाहरूको दैनिक खानपिनका लागि राहतस्वरुप आफ्ना उत्पादनहरू वितरण गरेको छ।
कम्पनीले आफ्नै उद्योगबाट उत्पादित चिउरा, सोयाबिन मस्यौरा, कर्नफ्लेक्स, ओट्सलगायतका खाद्य सामग्री सहयोग गरेको हो। बुटवल उपमहानगरपालिका- ४ को कान्ति माविको क्वारेन्टाइनमा रहेका १ सय १० जनाको लागि खाद्यान्न प्याकेज गत मंगलबार उक्त वडाका वडा अध्यक्ष टंकप्रसाद पराजुलीलाई हस्तान्तरण गरिएको हो।
त्यस्तै सोही दिन कम्पनीले तिलोत्तमा–२, स्थित दुर्गादत्त माध्यामिक विद्यालयको क्वारेन्टाइनमा रहेका ४५ जनाका लागि त्यस वडाका वडा अध्यक्ष दधिराम गौतमलाई खाद्य सामग्री हस्तान्तरण गरेको छ।
हाइलाइफ फुडले यसअघि पनि सियारी गाउँपालिका- १ का ३ सय विपन्न परिवारलाई एक सातालाई पुग्नेगरी उक्त वडाका वडा अध्यक्ष अरुण साही मार्फत खाद्य सामग्री हस्तान्तरण गरेको थियो।
कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कामहरु गर्दै आएको कम्पनीका प्रबन्ध निर्देशक प्रशान्त घिमिरेले बताए। अहिले कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी गरिएको लकडाउनको विषम परिस्थितिमा पनि कम्पनीले विभिन्न सुरक्षाका मापदण्ड अपनाएर आफ्नो उत्पादनलाई निरन्तरता दिएको छ।
साथै कम्पनीमा कार्यरत आफ्ना कर्मचारीहरूको सुरक्षाका लागि कोभिड–१९ बीमासमेत गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।