काठमाडौं- सरकारले संविधान संशोधन प्रस्ताव संघीय संसदमा पेश गर्ने भएको छ। मन्त्रिपरिषदको आज बसेको बैठकले सविधानको अनुसूची ३ संशोधनका लागि संविधान संशोधनको प्रस्ताव संसदमा पेश गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषदले कानुन मन्त्रालयबाट निर्माण हुने संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभामा पेस गर्ने निर्णय गरेको हो। यसका लागि प्रतिस्थापन विधेयक संसद सचिवालयमा दर्ता गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको ती मन्त्रीले बताए।
संविधान संशोधन भएसँगै हाल निशान छापमा रहेको लिम्पियाधुरा, लिपुलेक  तथा कालापानी क्षेत्रविहीन नक्सा हट्ने छ। र सो क्षेत्र समेटिएको नक्सा निशान छापमा राखिने छ।
संविधान विज्ञहरुले संशोधन गर्न पर्ने र नपर्ने दुवै टिप्पणी गरिरहेको समयमा सरकारले संशोधन प्रस्ताव दर्ता गराउने निर्णय गरेको हो। संसदबाट नक्सा सच्चाउँदा दलहरुका बीचमा एकता पनि देखिने र आफ्नो प्रमाण पनि बलियो हुने भएपछि सरकारले यस्तो निर्णय गरेको हो।
सरकारले बुधबार भारतले अतिक्रमण गरेको उक्त क्षेत्र समेटर नयाँ नक्सा जारी गरेको थियो। नेपालले नक्सा जारी गरेपछि भारतले त्यसलाई अस्वीकार नगने टिप्पणी गरेको छ।
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।