काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेको प्रश्नहरुको जवाफ दिँदै राष्ट्रिय सभामा भ्रष्टाचार गर्न नदिने कुरामा आफू पुरानै अडानमा रहेको बताए। नीति तथा कार्यक्रममा राष्ट्रिय सभाका सांसदहरुले सोधेको प्रश्नमा जवाफ दिँदै उनले नीतिगत भ्रष्टाचारदेखि स्वास्थ्य सामग्री खरिद र सरकार गठन भएपछि भ्रष्टाचार बढेको कुरालाई आग्रह राखेर गरिएको टिप्पणी गरे।
‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न‚ यो साँचो अभिव्यक्ति हो। नीतिगत भ्रष्टाचार पनि गर्न दिन्नँ’ उनले भने‚ ‘दिउँसो किताबको नखाने‚ राति खोलाको माछा खाने होइन, दिउँसो टमाटर नखाने‚ राती लुकेर खाने म होइन।’ अहिले नीतिगत भ्रष्टाचार हुँदैन भन्दै उनले आफ्नो सबै सम्पत्ति दान गरेकाले थप लोभ नभएको बताए।
‘मसँग केही छैन मलाई किन र कसका लागि भ्रष्टाचार गर्नु छ र! भ्रष्टाचार नगर्ने कोही हुँदैन भन्ने भ्रम नराखौं’ उनले भने‚ ‘यहाँ कोही भ्रष्टाचार गर्न तयार छैन। यदि झुट बोलेर छकाएर गर्न खोजे कारबाहीमा पर्छन्।’ नेपाली जनता इमान्दार भएको, जनप्रतिनिधि पनि भ्रष्ट नभएको उनले बताए। नेपाली सेनालाई पटक पटक निहित स्वार्थ राखेर विवादमा ल्याउन खोजेको भन्दै उनले यस्तो नगर्न आग्रह गरे।
‘नेपाली सेना व्यापारमुखी भयो भनेर आलोचना भइरहेको छ, सेनालाई कमजोर पार्न पटक पटक विवादमा तान्न खोजिएको छ’ प्रधानमन्त्री ओलीले टिप्पणी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।