काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी लिम्पियाधुरा नेपालको भूभाग भएकाले भारतसँग वार्ता गरेर फिर्ता ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यहाँ हामीले तिरो उठाएका थियौं। १९६२मा भारतीय सेना बसेपछि हामीलाई जान दिइएको थिएन’ उनले भने‚ ‘यो यसअघिका सरकारले ओझेलमा पारेका थिए। यो सरकारले यसलाई सहेन। अब यसलाई सेलाउन दिनेछैन।’ यो हाम्रो भूभाग भएकाले फिर्ता लिएर छोड्ने उनले बताए।
‘भारतले ल्याएको नक्सा हामीले मानेका छैनौं, हामीले अर्गेल्याइ गरेका छैनौ’ उनले भने‚ ‘कुटनीतिक माध्यमबाट वार्ता गरेर अब फिर्ता ल्याइनेछ। नीति तथा कार्यक्रममा जसरी सम्बोधन भएको छ। त्यसलाई प्राप्त गर्न ठोस रुपमा कुटनीतिक प्रयास गर्नेछौं। नयाँ नक्सा सबै भाग समेटेर जारी हुने प्रक्रिया सुरु भइसकेको उनले बताए।
‘यो कुनै चलाखी वा तथाकथित राष्ट्रवाद होइन। यो विगतमा हुने गरेको थियो। यो कुनै तमासा वा देखावा गरिएको होइन’ उनले भने‚ ‘हाम्रो भूभाग हो‚ फिर्ता लिन्छौं। हिजोमात्र मन्त्रीपरिषदबाट पारित भएको छ‚ आज भोलीमा प्रकाशित हुन्छ।’
अनुसुची ३ संशोधन गर्न संसदमा प्रस्ताव आउने उनले बताए। ‘यो विषय तत्कालीन महत्वको विषय हो, यहाँ आउनेछ पारित हुने विश्वास गरेको छु’ उनले भने‚ ‘यो देशको हितमा सबै एकजुट हुने विश्वास गरेका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।