काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भूमि फिर्ता ल्याउने कुरामा सरकार पछि नहट्ने बताएका छन्। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले एकै रातमा नक्सा जारी नहुँदैमा प्रश्न उठाउन नमिल्ने बताउँदै नेपाली भूमि फिर्ता लिने काममा पछि नहट्ने उल्लेख गरेका हुन्।
‘कसले के लेख्यो र कसले के बोल्यो म जानकार छैन। नक्सा कसैको दबाबमा सार्वजनिक गरेको हो कि भन्ने कुरा सुन्दा अचम्म लागेको छ,’ उनले भने, ‘सरकार व्यवहारमा विश्वास गर्छ। देशभन्दा ठूलो र स्वाभिमानभन्दा ठूलो केही हुँदैन। यो भन्दा गर्वको विषय केही हुदैन।’
नेपालले कहिल्यै पनि गुलामी स्वीकार नगरेको भन्दै उनले कसैको उक्साहटमा सरकार नचल्ने उनले बताए। अहिलेको सरकार राष्ट्रिय हितको प्रति प्रतिबद्ध रहेको उनले दोहोराए।
‘हिजो राती नक्सा तयार भएर पारित भएको छ। बिहानसम्म वितरण नहुँदा दबाबमा हो कि भनेर सोध्न मिल्ने खालको प्रश्न भएन कि?’ प्रधानमन्त्रीले भने, ‘संसदको भावनाको प्रतिनिधित्व सरकारले गर्छ।'
कोरोनाको रोकथाममा सरकारले गरेको तयारीका बारेमा संसदले उठाएको प्रश्नमा पनि उनले यो महामारीको असर अकल्पिनीय भएकाले तयारी नपुगेको स्वीकार गरेका उनले पहिलो कोरोना टेस्ट गर्न हङकङ पठाउनु परेको तर अहिले नेपालमा नै परीक्षण भइरहेको बताए। चीनमा नै उत्पादन बन्द हुँदा अपेक्षा अनुसार सबै व्यवस्था गर्न केही समस्या भएको उनले बताए।
विदेशमा रहेका नेपालीहरुलाई सरकारले फिर्ता ल्याउने उनले बताए। नेपाली नागरिकहरुलाई ल्याउनु भन्दा पहिले त्यसको प्राथमिकता र राख्ने ठाउँहरुको व्यवस्था गर्नुपर्ने बताए। पहिलो चरणमा सबैभन्दा समस्यामा परेका मानिसलाई नेपाल फर्काउने कार्यमा सरकारले काम गर्ने उनले बताए।
‘नेपालमा तयारी नगर्ने तर विदेशमात्र ल्याउने हो भने यहाँ भद्रगोल भएर महमारी फैलने निश्चित छ,’ उनले भने, ‘सरकार यही कुरालाई ख्याल गरेर तयारीका साथ ल्याउन सरकार लागेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।