काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सम्बोधनका क्रममा कुर्सी मगाएका छन्। स्वास्थ्यका कारण आफूलाई लामो समय उभिएर बोल्न असहज भएको भन्दै ओलीले कुर्सी मगाएका हुन्।
उनले सभामुख अग्नि सापकोटासँग आफूलाई असहज भएको जानकारी गराए। ‘सभामुख महोदय, मलाई स्वास्थ्यको कारणले उभिएर बोल्न गाह्रो भयो’, आफ्नो सम्बोधनको २०औं मिनेटमा उनले भने।
रोस्टमबाट बोलिरहेका उनले आफूलाई गाह्रो भएको बताएपछि सभामुखले संसदका महासचिवलाई कुर्सीको व्यवस्था गर्न भनेका थिए।
केही बेरपछि उनलाई कुर्सीको व्यवस्था भयो र पुनः सम्बोधन सुरु गरेका छन्। केही महिनाअघि प्रधानमन्त्रीको दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएको थियो। अहिले उनले कुर्सीमा बसेर संसद्लाई सम्बोधन जारी राखेका छन्।
सरकारले सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिन सदनमा उपस्थित भएका प्रधानमन्त्री ओली कोरोनाकै विषयमा मात्र केन्द्रित छन्।
नेपाल र विश्वमा कोरोनाको असर चर्चा गरेका प्रधानमन्त्रीले स्वास्थ्य संकट प्रति सरकार गम्भीर बनेको दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।