काठमाडौं- नेपाल सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनका कारण आयातभन्दा निर्यात बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चैत महिनामा आयात ७५ प्रतिशतले घटेको छ भने निर्यात १२.९ प्रतिशतले बढेको छ।
वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ६.४ प्रतिशत रहेको छ। नौ महिनाको औसत मुद्रास्फीति ६.५३ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। त्यस्तै वार्षिक बिन्दुगत आधारमा विप्रेषण आप्रवाह ४ प्रतिशतले घटेको छ। लकडाउन भएपनि मूल्यवृद्धि नियन्त्रणमा लिन सजिलो परेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।
शोधनान्तर स्थिति भने ३६ अर्ब ६१ करोड रुपैयाँले बचतमा छ। कूल विदेशी विनिमय सञ्चिति ११ खर्ब ५५ अर्ब ९० करोड रुपैयाँ बराबर कायम भएको छ। उक्त सञ्चितिले साढे ९ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने नेपाल राष्ट्र बैंकले जनाएको छ।
संघीय सरकारको बैंकिङ कारोबारमा आधारित खर्च ६ खर्ब ३८ अर्ब रुपैयाँ छ भने राजस्व परिचालन ५ खर्ब ९० अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांक छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १.७ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा ११.५ प्रतिशतले बढेको छ।
चैत महिनामा १० दिन मात्र बैंक सहज रुपमा सञ्चालन भएका थिए। यसका साथै चालु आर्थिक वर्षको ८ महिना १० दिन बैंकिङ प्रणाली राम्रोसँग सञ्चालन भएको हुँदा निक्षेप र कर्जा लगानी सुधार भएको तथ्याङ्क आएको हो। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १६.९ प्रतिशत र कर्जाको वृद्धिदर १४.३ प्रतिशत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।