सोह्रै आना यस्तै नभएपनि लगभग यस्तै सदनमा ३० वर्षदेखि बोल्दै आएको छु। राष्ट्रपतिको सन्देशका नाममा औपचारिक रुपमा पेस गरिएको यस्तो दस्तावेजमा सधैं बोलेको छु। तर, यसपटक जस्तो व्यर्थता र निरर्थताको अनुभूति कहिल्यै भएको थिएन।
२०३२ साल तिर कमरेड केपी शर्मा ओलीसँग भद्रगोल जेलमा देखादेख भएको थियो। गोलगरमा म थिएँ। नजिकबाट कुरा गर्न पनि गाह्रो थियो। कति वर्ष बितेछ त? राष्ट्रपतिको नीति तथा कार्यक्रम सम्बोधन पढ्दा यतिका वर्ष हामीले के गरेछौं त भन्ने लाग्यो। नीति तथा कार्यक्रम सरकारको किंकर्तव्यविमूढताको ठोस प्रस्ताव छ। त्यो दिशाविहीनताले म पनि संकल्पित भएजस्तो भएको छ। कस्को विरोध गर्ने? देश परिवर्तन गर्न हिँडेकालाई हाँसो उडाउने वा कुन पक्षको समर्थन गर्ने? हामीले ३०/४० वर्षदेखि बनाएका सरकार उस्तै भएनौं त?
विगत ४० वर्षले हामीलाई सत्ताको हस्तान्तरण मात्रै गरेछ, सत्ताको रुपान्तरण गरेनछ। फलस्वरुप भ्रष्टाचारमा देश डुबेको छ। सुशासन शब्द जिब्रोमा अड्केको छ। फगत कुशासन छ। कुशासन र भ्रष्टाचारलाई लकडाउनले ठोस रूपमा छाम्न सकिने, बुझ्न सकिने, तौल गर्न सकिने रूपमा गाउँगाउँमा देखाइदिएको छ।
लकडाउनको सुरु हुनुभन्दा दुई दिनअघिसम्म म गाउँमा थिएँ। जन्मथलोमै म लकडाउनमा परें। व्यक्तिगत रूपमा कसैलाई केही भन्नु छैन। चाहेमा भन्न सक्छु तर कसैको नाम लिएर भन्नु छैन। यत्रो अशंवेदनशीलता? यत्रो अमानवीयता? प्रतिनिधिमूलक पात्रको यत्रो अभाव? आम नागरिकको अवस्था के होला? नागरिकले कसरी लकडाउन खेपिरहेका होलान्? कति दिन खेप्लान्? सिडिओ हस्याङफस्याङ छन्। डिआइजीलाई सवारी चलाउँदैमा फुर्सद छैन। दोष कसैलाई दिनू?
किंकर्तव्यविमूढता नीति तथा कार्यक्रममा पनि देखिएको छ। 'सुशासनलाई लागू अवश्य गरिनेछ'। अर्को थप कुरा कसैलाई भोकै रहन नदिने र मर्न नदिने विषय नीति तथा कार्यक्रममा समावेश छ। म चेतावनी दिन चाहन्छु, भोकले नै मर्ने अवस्था आउँदैछ। कतिपय कुरा संवेदनशील मानिस र संवेदनशील नेताहरुले भनिसके। रोगभन्दा पनि भोकले मर्ने अवस्था नेपालमा आउँदैछ।
सरकारको संयन्त्र त्यसप्रति पूर्ण उदासीन छ। भनिन्छ– रक्सीको नशा खाएपछि मात्र लाग्छ। पैसाको नशा पाएपछि लाग्छ। तर, सत्ताको नशा कसैले गाइदिएपछि लाग्ने रहेछ। ‘ओहो तपाई| त कति ठूलो मान्छे’, ‘यो देश बनाउन तपाईँको जन्म भएको’ भनिदिएपछि सत्ताको नशा लाग्ने रहेछ। हाम्रो सत्ताधारी दलका नेतालाई मुलुकको जानकारी भएजस्तो लाग्दैन।
द्वितीय विश्वयुद्धपछि मानव इतिहासमा 'एटम बम'ले ल्याएको खतराभन्दा कोरोना खतरा हो। नीति तथा कार्यक्रममा ‘यो गरिनेछ’,‘त्यो गरिनेछ’ छ। बाफ्रे! 'गरिनेछ'को लिस्ट! ३० वर्षको मेरो संसदीय अनभुवमा यति बढी ‘गरिनेछ’ मात्र भएको कुनै नीति कार्यक्रममा थिएन। यसैगरी 'गरिनेछ, गरिनेछ' मात्र लेख्ने हो भने केही दिनमा गरिनेछको ठाउँमा ‘मरिनेछ’ लेख्नुपर्छ। 'मरिने'को खतरा हटाएर 'गरिनेछ' लेख्नुपर्नेमा नीति तथा कार्यक्रम पूर्ण मौन छ। जिम्मेदारीबाट पन्छिनका लागि नाम मात्रको सशासनको कुरा उल्लेख छ।
प्रधानमन्त्रीको पदमा बसेको व्यक्तिले के गर्ने? अवस्था यस्तो छ भन्न पाइँदैन। कुनै घरमा गार्ड राखिएको छ। चोरी भयो भने सबैभन्दा पहिले चोर खोजिँदैन। गार्डसँग स्पष्टीकरण सोधिन्छ। त्यसैले यो सरकारसँग पहिलोपटक स्पष्टीकरण माग्दैछु। विरोधका लागि विरोध गर्ने, अत्तो थाप्ने म सांसद होइन। यो सरकारको अर्कमर्ण्यता, असक्षमता लगभग द्वितीय विश्वयुद्ध बेलाका बेलायतका प्रधानमन्त्री नेभिल च्याम्बल जस्तै छ। उनलाई हटाउन उनकै पार्टीका लर्ड एनरीले उठेर भन्नुपरेको थियो- ‘इनफ, इनफ’ हामी माथि दया गर, त्यो कुर्ची छोडिदेऊ। त्यो दृश्य दोहोर्याउन चाहन्नँ। प्रधानमन्त्रीको तथाकथित देशभक्तिमा शंका छैन। प्रधानमन्त्रीले दिएको अभिव्यक्तिअनुसार देशभक्ति हो भने प्रचण्डसँग हात मिलाएर भारत र चीनलाई लालसेना बनाएर सबक सिकाउन पनि बेर छैन। तर, समस्या छ, आज भोकमरीको।
नेपालीहरु कुनै दिन बलियो भए भने अमरसिंह थापाले जस्तै हतियार चलाएर सतलज पुगौँला। अहिलेका लागि आवश्यक मात्रामा क्वारेन्टाइन बनाउनुस् प्रधानमन्त्रीजी। सीमामा हजारौं लाखौं नागरिक छन्, तिनलाई भित्र्याउनुस्। संगै बाचौँला, सँगै मरौँला। मलेसिया र मध्यपूर्वका नेपालीलाई ल्याउन आँट देखाउनुस्, जसका पैसाले हामी बाँचेका छौं,। उनीहरु त्यहाँ चाहेर गएका होइनन्। उनीहरूलाई कविताको भाषामा भन्नुस्– अर्काको देशमा गएर कसका लागि लड्दैछौं? कसका लागि कमाउँदैछौं? आऊ, आफ्नै देशमा। जोसँग लड्न छ, आफ्नै देशमा आएर लड। आफ्नै देशमा मर। आफ्नो मुलुकको भारी बिसाउन छोडेर अर्को मुलुकको भारी बोक्न जाने? कवितामै भन्नुस्।
राष्ट्रपतिलाई पनि म भन्न चाहन्छु। राष्ट्रपति कुनै पार्टीको सदस्य होइन। कोरोनाका बेला बेलायतकी महारानी एलिजावेथले सन्देश दिएजस्तै हैसियत नेपालको राष्ट्रपतिको पनि छ। सिंगो मूलुकको राष्ट्रपति हुन सिक्नुपर्छ। राष्ट्रपतिको सन्देश सबै दललाई हो। तर त्यस्तो ध्वनि यहाँ छैन।
भिडियो
कुनैपनि मुलुकको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार हो। प्रधानमन्त्रीले भ्रष्टचारशून्य बनाउँछु भन्दा मानिसहरू तातेका थिए। दुई वर्षका अनेक काण्डको चर्चा गर्दिनँ। सञ्चारमन्त्रीदेखि विभिन्न मन्त्री दागी भएको दोहोर्याउन चाहन्नँ। उहाँले आफूले एक दिन सिद्ध गर्नुहोला। जिल्ला, गाउँ, घर, अदालतमा गएर वास्तविकता बुझ्न म प्रधानमन्त्रीलाई आग्रह गर्दछु। लडाकु जत्था बनाएर हिडेंको तपाईंहरु झुक्किएर भएपनि गाउँको अवस्था बुझ्नुस्। त्यो अवस्था बुझ्नु भनेको कोभिडको आतंक बुझ्नु हो।
सबै कुरा आज चाहिएको छ, तर सबैभन्दा पहिले सहानुभूति चाहिएको छ। संवेदना चाहिएको छ। प्रेम र माया चाहिएको छ। दाजुभाई, छिमेकीलाई माया गर्न नसक्ने समाजवादी हुन सक्दैन। मार्क्स, एंगेल्सको ठेली बिर्सनुस्। समाजवादको मूल परिभाषा आम जनतालाई माया गर्ने हो। र, आफूलाई माया गर्ने हो। नीति तथा कार्यक्रममा सबैथोक देखें। तर,माया देखिनँ। त्यसैले यो नीति तथा कार्यक्रमको विपक्षमा बोल्दैछु। मतदान गर्न परे, विपक्षमा मतदान गर्छु।
सरकारले समस्या समाधान गर्नुपर्छ। सरकारले समाधान गर्दैन भने ठाउँ छोडोस्। झुठो ललिपप दिने बेला यो होइन।
(नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा कांग्रेस नेता नेता गिरीले राखेको विचारको संम्पादित अंश)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।