काठमाडौं- कपिलवस्तुको यशोधरा गाउँपालिका-८ का दुई वटा क्वारेनटाइनमा राखिएका ४५ जना व्यक्तिहरू भागेका छन्। यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेशकुमार पाण्डेले करिब ४५ जना जति व्यक्ति क्वारेन्टाइनबाट भागेको जानकारी दिए।
उनका अनुसार शुक्रबार र शनिबार राति क्वारेन्टाइन छोडेका हुन्। शुक्रबार राति वडा नम्बर ८ को खोरियास्थित सरस्वती प्राविको क्वारेन्टाइनका ३० जना र शनिबार सोही वडाको राष्ट्रिय निमावि सिंहखोरका थप १५ जना क्वारेन्टाइन छोडेर हिँडेको अध्यक्ष पाण्डेले बताए। यशोधरा गाउँपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सो गाउँपालिकाको वडा नम्बर ८ मा मात्रै पाँच जनामा संक्रमण भएको छ। हालसम्म फेला परेका संक्रमित सबै खोरिया गाउँकै हुन्। क्वारेन्टाइनमा बसेका व्यक्ति भागेर घर गएपछि स्थानीयमा त्रास बढेको छ।
यसबारे आइतबार प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएको गाउँपालिका अध्यक्ष पाण्डेले बताए। हिजो र आज गरेर क्वारेनटाइनमा रहेका मानिसहरू त्यहाँबाट हिँडेपछि त्यसको जानकारी आज (आइतबार) बिहान पनि सिडियोलाई गराएको छु,’ अध्यक्ष पाण्डेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।