काठमाडौं- लकडाउनमा सैनिक पोशाक लगाएर हिँड्ने एक जना गैरसैनिक पक्राउ परेका छन्।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पक्राउ पर्नेमा दोलखा घर भई काठमाडौं बाँसबारीमा बस्दै आएका सुशील खड्का रहेका छन्।
उनलाई बाँसबारीतर्फ जाँदै गरेको बेला ट्राफिक प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको जंगी अड्डाले जनाएको छ। पक्राउ परेका खड्कालाई सैनिक प्रहरी गणमा राखेर सेनाले अनुसन्धान सुरु गरेको छ। उनी २०६८ सालमा सैनिकमा भर्ती भएर तालिमकै क्रममा भागेको भगौडा रहेको पाइएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।
सैनिक व्यक्तिहरुको हिँडडुलमाथि निगरानी तथा सैनिक पोशाकको दुरुपयोग हुन नदिन भन्दै सेनाले आइतबार काठमाडौं उत्यकामा जाँच गरेको थियो। सोही क्रममा खड्का पक्राउ परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।