काठमाडौं– नेपाल-भारत सीमामा आइपुगेका नेपालीहरुको स्वास्थ्य परीक्षण गरी नेपाल प्रवेश गराउन संघीय संसद्को प्रतिनिधी सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ। आइतबार बसेको बैठकमा प्रवेश बिन्दुमा विशेष स्वास्थ्य परीक्षण शिविर चलाएर तत्काल देश भित्र्याउन निर्देशन दिइएको हो।
उनीहरुलाई सीमा क्षेत्रको जिल्ला समबन्धित व्यक्तिको जिल्ला सदरमुकाम तथा पालिकामा निश्चित समय राखेर घर फर्काउन भनिएको छ। प्रवासमा रहेका अन्य नेपालीका विषयमा पनि नेपाल सरकारले स्पष्ट नीति लिन सुझाइएको छ। यसका लागि कोरोना संक्रमणको अवसेथा नेपालीहरु रहेका विभिन्न देशहरु तथा त्यहाँ रहेका नेपालीहरुको वर्गीकरण गर्न भनिएको छ।
यस्तो वर्गीकरणका आधारमा स्वदेश फर्किन चाहने नेपालीहरुलाई निश्चित समय तोक्नुका साथै कार्यतालिका बनाई कार्यान्वयन गर्ने र उनीहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरी घर पठाउन भनिएको छ।
आफ्नै खर्चमा नेपाल फर्किन चाहने नेपालीहरु तथा वेखर्ची भई अलपत्र परेका नेपालीहरुको विवरण संकलन गरी तदनुरुपको कार्ययोजना बनाउने र यसमा चाहिने रकम कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थापित कोषबाट खर्च गर्ने भनिएको छ। उनीहरुलाई नेपाल ल्याउन नेपाल वायु सेवा निगमको विमान प्रयोग गर्न निर्देशन दिइएको छ।
विभिन्न देशहरुमा अलपत्र परेका नेपालीहरुको स्वदेश फर्किने व्यवस्था नभएसम्म सम्बन्धित देशको सरकारसँग वार्ता गरी खाने, बस्ने र स्वास्थ्य उपचारको प्रबन्ध मिलाउने निर्देशन दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।