काठमाडौं- जिल्ला अदालत बारामा मुद्दा ल्याउने प्रहरीलाई नै कोरोना संक्रमण पोजेटिभ भएपछि जिल्ला अदालत त्रास फैलिएको छ। म्याद थपका लागि आरोपित लिएर आएका एक प्रहरीमा पनि कोरोना पोजेटिभ देखिएपछि बारा जिल्ला अदालतमा त्रास फैलिएको हो।
आरोपितसहित आएका प्रहरीलाई कोरोना परीक्षण गराएर पेस गर्नू भनि फर्काइएको थियो। बुधवार न्यायाधीशद्धय रोशन गजुरेल र खिलनाथ रेग्मीको इजलासमा उनीहरुको मुद्दा पेस हुँदै थियो। विभिन्न आरोपमा पक्राउ परेका केही अभियुक्त लिएर ती प्रहरी जिल्ला अदालतको मुद्दा फाँटमा पुगेका थिए। फाँटमा आरोपितहरुको मात्र कोरोना परिक्षणको रिर्पोट पेस गरेपछि फाँटका कर्मचारीले प्रहरीको पनि परीक्षण गरेर पेस गर्न भन्दै फर्काएका थिए।
‘सधै मुद्दा ल्याउने प्रहरी भएकाले सहज रुपमा उनलाई सबैको परीक्षण गरेर ल्याउन भनेका थियौँ,’ स्रेस्तेदार कौशलेश्वर ज्ञवालीले नेपाल लाइभसँग भने, ‘तर उनमा पोजेटिभ भएको पाइएको छ। शुरुमा र्यापिड टेस्ट गरिएको थियो। पछि पिसिआरमा पनि पोजेटिभ पाइएपछि अदालतमा त्रास फैलिएको छ।’
९ कर्मचारी क्वारेनटाइनमा
जनस्वास्थ्य प्रयोगशाला टेकुले शनिबार ती प्रहरीको रिर्पोट पोजेटिभ भएको पुष्टि गरेको थियो। उनीसँग सम्पर्कमा पुगेका ९ कर्मचारीलाई शनिबारबाट सेल्फ क्वारेनटाइनमा राखिएको स्रेस्तेदार ज्ञवालीले बताए उनले बताए।
मुद्दा फाँट र म्याद थप फाँटका सबै कर्मचारीलाई केही दिनका लागि घरमै सेल्फ क्वारेनटाइनमा राखेको उनले बताए। अदालतका अन्य कर्मचारीलाई सर्न र कर्मचारीवाट अन्यमा सर्न नदिन सावधानी अपनाइएको उनको भनाइ छ।
किट नै पाइएन
यसरी प्रहरीलाई कोरोना देखिएपछि अदालतका कर्मचारीको परिक्षण गर्नका लागि किट नै नपाएको अदालतका एक कर्मचारीले बताए। हिजोदेखि खोजी गर्दा पिसिसआर किट नपाएको ती कर्मचारीले बताए। कर्मचारीको जोखिम बढेपछि सर्वोच्चमा खबर गरिएको थियो।
सर्वोच्चको पहलपछि क्वारेनटाइनमा बसेका कर्मचारीको आइतबार आरडिटी परिक्षण गरिएको छ। 'पिसिआर किट नै नपाउने रहेछ। त्यसैले स्वाब संकलन हुन नसकेको अवस्था छ। अहिले भर्खर कर्मचारीको आरडिटी गरिएको छ,' श्रेष्तेदार ज्ञवालीले बताए। उनीहरुको रिर्पोट नेगेटिभ आएको तर पिसिआर नगरी ढुक्क हुन नसकिने अवस्था रहेको उनको भनाइ छ। पिसिआरका लागि पहल भइरहेको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।