काठमाडौं- कपनमा फर्निचर सञ्चालन गरेर बसेकी युवती सर्लाहीबाट मोटरसाइकलमा काठमाडौं आएको पाइएको छ।
सरकारले लकडाउन घोषणा गरेसँगै सर्लाहीको रामनगर गाउँपालिका-४ स्थित आफ्नो घर गएकी उनी वैशाख २२ गते राति सर्लाहीबाट काठमाडौं हिँडेकी थिइन्। रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माका अनुसार उनीसँगै उनका दुई बहिनी, उनका बाबु र अर्का एक जना व्यक्ति दुईवटा मोटरसाइकलमा सर्लाहीबाट राति काठमाडौंको यात्रामा निस्केका थिए।
दुईवटा मोटरसाइकलमा उनीहरु पाँच जना काठमाडौं गएको उनले बताए। कपनको तेन्जिङ चोकमा फर्निचर पसल सञ्चालन गर्ने उनीहरु तराईबाट आएको जानकारी पाएपछि स्थानीयले कोरोना परीक्षण गर्न उनीहरुलाई दबाब दिएका थिए। त्यसपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कोरोना जाँच गराउँदा ती युवतीको पोजेटिभ रिपोर्ट आएको हो।
सर्लाहीमा रहँदा लकडाउन भएकाले घर वरपर बाहेक अन्यत्र गएको नपाइएको अध्यक्ष बर्माले नेपाल लाइभलाई जानकारी दिए। उनका परिवारमा १९ जना सदस्य रहेका छन्। जसमध्ये सर्लाहीमा १० जना रहेको र उनीहरु सबैको स्वाब संकलन गरेर जाँच गर्न पठाउने तयारी भएको बर्माले बताए। अहिले सबैजनालाई क्वारेन्टाइनमा राखिएको छ भने ती किशोरीको घर भएको क्षेत्र समेत सिल गरिएको बर्माले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।