प्रतीकात्मक तस्बिर
ललितपुर- ललितपुर महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिको पिसिआर टेस्ट गर्न स्वाब संकलन गरिएको छ। महानगरपालिकाले आइतबार २९ वटै वडाका १ सय ४७ जना जनप्रतिनिधिको पिसिआर टेस्टका लागि स्वाब संकलन गरेको हो।
कोरोना भाइरस संक्रमणको आशंका लागेका मानिसहरुको जाँच गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट १ हजार ५० थान पिसिआर किट उपलब्ध भएपछि महानगरपालिकाले सबै जनप्रतिनिधिको पिसिआर टेस्ट गर्न लागेको हो।
शनिबार महानगरका सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको पिसिआर परीक्षण भएको थियो। महानगरपालिकाकी उपमेयर गीता सत्यालले शनिबार स्वास्थ्यकर्मी र सफाईकर्मी गरी २ सय ११ जनाको पिसिआर परीक्षण भएको बताइन्।
'महानगरको योजना अनुसार नै सबै जनप्रतिनिधिको पिसिआर प्रविधिबाट परीक्षण गर्न लागिएको हो,' उनले भनिन्। उपमेयर सत्यालले जनप्रतिनिधिसँगै, महानगरभित्र कार्यरत पत्रकार, फलफुल व्यवसायी, ग्यास डिलरहरुमा काम गर्ने व्यक्तिहरुको पनि पिसिआर परीक्षण गर्न लागिएको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।